हावाहुरीपीडितका घर बैशाख २६ बाटै बन्ने

664
views

काठमाडौँ, १५, वैशाख । बारा, पर्सा हावाहुरी पीडितका घरहरु बैशाख २६ गतेदेखि बन्ने भएका छन् । घर निर्माणको जिम्मा पाएका नेपाली सेनाले वैशाख २६ गतेदेखि निर्माण कार्य सुरु गर्ने नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए ।

बारा र पर्सा जिल्लामा हावाहुरीबाट घरबारविहीन भएकाहरूको घर निर्माणका लागि नेपाली सेनाको टोली शनिबार बारा र पर्साका लागि काठमाडौँबाट प्रस्थान गरेको समेत उनले बताए ।

असारको दोस्रो साताभित्र सम्पूर्ण घर निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको समेत उनले जानकारी दिए ।सरकारले बारा र पर्साका हावाहुरी पीडितलाई घर निर्माण गर्न नेपाली सेनालाई ८४ करोड ६८ लाख रुपियाँ बजेट दिने दिने निर्णय गरेसँगै सेनाले निर्माण कार्यलाई अगाडि बढाएको हो । बारा जिल्लामा एकहजार ३६२ र पर्सा जिल्लामा ९१ वटा घर निर्माण गर्नुपर्ने छ ।