दुईबर्ष भित्र साक्षर नेपाल, साक्षर नेपाली–राष्ट्रपति

789
views

सीताराम थापा
बागलुङ २४, बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा आगामी दुईवर्ष भित्र साक्षर नेपाल साक्षर नेपाली घोषणा हुने बताउनु भएको छ । उहाँले सरकारले शिक्षा क्षेत्रमा आर्थिक, भौतिक लगानी बृद्वि गरेर उल्लेखित लक्ष्य हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो ।

उद्योग बाणिज्य संघ नेपालका उपाध्यक्ष तथा ब्याबसायि चन्द्रप्रसाद ढकाल र हेमराज ढकालले पिता हिरण्यलाल ढकालको स्मृतिमा ५ करोड २८ लाखको लगानी गरी निर्माण गरेको बागलुङ नगरपालिका–१२ अमलाचौरस्थित पृथ्वी हिरण्य माविको नव निर्मित भवनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले सबै नेपालीका छोराछोरीलाई शिक्षा र स्वास्थ्यको सेवा सहज बनाउन सरकार सक्रिय भएको बताउनु भयो ।

राष्ट्रपति भण्डारीले स्वास्थ्य र शिक्षा नङ र मासु झैं भएकोले हरेक बालबालिकाले आधारभूत तहको शिक्षा र स्वास्थ्य सेवा पाउने अधिकार दिलाउने कुरामा सरकार कुनै कसुर बांकि नराख्ने बताउनु भयो ।

उहाँले संघीय सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानि गर्नु पर्ने बताउदै गाउँमा बस्न र रमाउने बनाउन जमिन र माटोको सदुपयोग गरि कृषिमा लागि पर्ने नीति ल्याउन जोड दिनु भयो । अब हरेक विद्यालयहरु र प्रत्येक घर घरमा करेसाबारी बनाई तरकारी फलाएर सबैले स्वस्थ्य जीवन ज्युने वातावरण बनाउन आग्रह गर्नु भयो ।

उहाँले हरेक विद्यालयमा गुणस्तरिय शिक्षाको विकास गरेर नैतिकवान र स्वाभिमानी नागरिक उत्पादन गर्ने दायित्व पूरा गर्नेमा पनि जोड दिदै राष्ट्रपति विद्यादेवी भण्डारीले भन्नुभयो ‘अब नागरिकहरुले आफ्नो भन्ने भावना बढाउन सबैको साझा बिद्यालय बनाउनु पर्छ ।’
उहाँले करोडौं लगानी गरेर विद्यालय भवन बनाउने ढकाल परिवारको प्रशंसा गर्दै अझै धेरै नागरिकको लगानी बढाउनुपर्नेमा जोड दिनुभयो ।

भवनसँगै ढकालका पिता हिरण्यको अर्धकदको मूर्ति समेत राष्ट्रपतिले आज अनावरण गरिएको थियो ।

विद्यालयमा ३ सय ७८ विद्यार्थी अध्ययनरत छन् । सो अवसरमा विद्यालयमा सहयोग गर्ने ढकालकी माता जानुका ढकाललाई राष्ट्रपतिले सम्मानित गर्नुभयो ।