बागलुङमा बाढीले तीन घर विस्थापित

511
views

सीताराम थापा
बागलुङ   जिल्लामा सोमबार साँझ परेको भारी वर्षासँगै आएको बाढीका कारण बडिगाड गाउँपालिका वार्ड नं.–६ खालका तीन घरमा ठूलो क्षति भएको छ ।

बर्षाले माथिबाट आएको भेलबाढीले लोकमार्ग छेउमै रहेको स्थानीय गोठे सार्कीको छाप्रो र घर पुरिएको छ । यसैगरि गोपाल श्रेष्ठ र गङ्गे सार्कीको घरमा बाढी पसेका कारण क्षति पुगेको वडाध्यक्ष मौसमकाजी क्षेत्रीले बताए ।

घ्वाङ्ग खोलाको भलबाढी सहित आएको बाढीले घरमा क्षति हुँदा बाँस नै उठिबास हुने गरि क्षति पुगेको छ । विस्थापित तीन घरका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको अध्यक्ष क्षेत्रीले बताए । बाढी आएको कारण करीब दुईघण्टा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको थियो ।

बाढीका कारण लोकमार्ग अवरुद्ध भएपछि तत्कालै जेसिभीको सहायताले सडक खुलाइएको अध्यक्ष क्षेत्रीको भनाई छ । करीब एक घण्टासम्म आएको भारी वर्षाका कारण स्थानीय त्रासदिपुर्ण वातावरणमा रहेका थिए ।