विप्लवका सर्लाही इन्चार्जको प्रहरी कार्वाहीमा मृत्यु

697
views

सर्लाही–प्रहरी कारबाहीमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका सर्लाही इन्चार्ज कुमार पौडेलको मृत्यु भएको छ । बिहीबार दिउँसो सर्लाहीकै लालबन्दी नगरपालिका–१, चुरे क्षेत्रस्थित लखन्देही खोलामा प्रहरी कारबाहीमा पौडेलको मृत्यु भएको प्रहरी स्रोतले जनायो ।

विशेष सुराकीका आधारमा गएको प्रहरी गस्ती टोली देखेपछि पौडेल नेतृत्वमा रहेको माओवादी कार्यकर्ता टोलीले गोली प्रहार गरेको र जवाफी कारबाही गर्दा उनको मृत्यु भएको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर स्रोतले जनाएको छ ।

प्रहरीले जवाफी कारबाही गर्ने क्रममा केहीबेर दोहोरो गोली हानाहान भएको र पछि विप्लव समूहका कार्यकर्ता भागेका बताइएको छ। स्रोतका अनुसार प्रहरी कारबाही रोकिएपछि केही उत्तरतर्फ गएर हेर्दा गोली लागेको अवस्थामा पौडेलको शव फेला परेको हो ।

घटनास्थलमा बन्दुक, मोटरसाइकललगायत बरामद् भएको प्रहरी स्रोतले जनायो। कारबाहीमा विप्लव समूहका अन्य कार्यकर्तासमेत घाइते भएको हुन सक्ने प्रहरी स्रोतले जनाएको छ ।