नेता अधिकारीको आइसियूमा उपचार, स्वास्थ्य स्थिति बुझ्न महासचिव किरण क्यान्सर अस्पतालमा

570
views

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का पोलिट व्युरो सदस्य श्रीनाथ अधिकारीको स्वास्थ्य स्थित बुझ्न सो पार्टीका महासचिव मोहन वैद्य ‘किरण’ शनिवार हरिसिद्धि स्थित नेपाल क्यान्सर अस्पताल पुगेका छन् ।

आइसियूमा उपचार गराईरहेका नेता अधिकारीलाई भेटेर महासचिव किरणले ‘अहिले कस्तो छ तपाइँलाई ?’ भनेर सोधेका थिए । नेता अधिकारीले आफुलाई (मुस्किलले) ‘श्वास फेर्न गाह्रो भएको बताए ।

अधिकारीको स्वास्थ्य स्थिति गम्भीर बन्दै गइरहेका बेला महासचिव ‘किरण’ क्यान्सर अस्पताल पुगेका थिए । महासचिव किरणसँगै पार्टी स्थायी समिति सदस्य हरिभक्त कँडेल ‘प्रतीक’ पनि अधिकारीको स्वास्थ्य स्थिति बुझ्न गएका थिए ।

उपचारमा संलग्न चिकित्सकहरुका अनुसार नेता अधिकारीको स्वास्थ्य स्थिति दिनदिनै गम्भीर बन्दै गएको छ । नेता अधिकारीको स्वास्थ्य स्थिति बुझ्न दिनदिनै क्रान्तिकारी माओवादी लगायत विभिन्न राजनीतिक पार्टीका नेता कार्यकर्ताहरु, आफन्त तथा नातेदारहरु अस्पताल पुगेर स्वास्थ्य लाभको कामना गरिरहेका छन् ।

पार्टी तथा परिवारका सदस्यहरुले नेता अधिकारीहरुको उपचारमा हरसम्भव प्रयास जारी राखेका छन् ।

नेता अधिकारीको पौष १९ गतेदेखि निरन्तर अस्पतालमा भर्ना भई उपचार भइरहेको छ । सुरुमा चितवनको भरतपुर क्यान्सर अस्पतालमा उपचार गराइए पनि थप उपचारका लागि बैशाख २७ गतेदेखि हरिसिद्धि स्थित नेपाल क्यान्सर अस्पतालमा उपचार भइरहेको छ । नेता अधिकारी फोक्सोको क्यान्सरबाट पीडित हुनुहुन्छ । अधिकारीको अहिले आइसियूमा राखेर उपचार प्रक्रिया अगाडि बढाइएको छ ।

नेता अधिकारीलाई एक इमान्दार, त्यागी, निष्ठावान, आदर्शयुक्त व्यक्तित्वका धनी नेताको रुपमा स्थापित हुनुहुन्छ । उहाँ गोरखा जिल्लाको कम्युनिस्ट आन्दोलन तथा पार्टीको संस्थापक नेता समेत हुनुहुन्छ । नेपाली कम्युनिस्ट आन्दोलन खासगरी माओवादी आन्दोलनका सबै धाराका नेता कार्यकर्ताहरुले उहाँलाई एक अनुकरणीय व्यक्तित्वको रुपमा लिने गर्दछन् ।