३ दिन देशभर भारी वर्षा, सर्तकता अपनाउन मौसमविद्हरुको आग्रह

764
views

काठमाडौँ, ६ साउन । जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी ३ दिन देशभर भारी बर्षा हुने जनाएको छ । मनसुनी न्यून चापीय रेखा नेपालको दक्षिण भू–भागमा अवस्थित रहेकाले तीन दिन देशभर मध्यमदेखि भारी वर्षा हुनसक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङले जानकारी दिए ।

केही दिनअघि दक्षिण सरेको न्यूनचापीय रेखा सोमबार पुनः नेपाल प्रवेश गरेको र बुधबारसरम्म देशको अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको हो ।

वर्षाका कारण पहाडी भू–भागमा पहिरो जानसक्ने र चुरे अन्य पहाडबाट बहने खोलामा जल सतह बढ्नाका साथै हवाई र सडक यातायातसमेत सञ्चालनमा बाधा पर्ने भएकाले सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन् ।

बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन कन्काई, कमला र बामतीमा पानीको प्रवाह बढी हुने र केही शाखा नदीमा पानीको प्रवाह बढ्ने भएकाले मंगलबार र बुधबार प्रदेश १, २ र ३ का तराई र पहाडका केही साना नदीमा आकस्मिक बाढीको सम्भावना हुने हुँदा तटीय क्षेत्रमा पूर्वतयारी र प्रतिकार्यका लागि समेत सचेत रहन आग्रह गरिएको छ ।

राति देशको पूर्वी र मध्य भागमा सामान्यदेखि पूर्ण बदली रही पश्चिमी भू–भागमा आंशिक बदली भई पूर्व तथा मध्यका अधिकांश भागका साथै पश्चिमका केही भागमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।