भ्रष्ट्राचार विरुद्व विद्यार्थीहरुले संयुक्त आन्दोलन गर्ने

637
views

सीताराम थापा
बागलुङ । वाग्लुङका सवै विद्यार्थी संगठनहरुले व्याप्त शैक्षिक भ्रष्टाचारका विरुद्ध संयुक्त आन्दोलन गर्ने घोषणा गरेका छन् । धौलागिरि संचार क्लब बागलुङले आयोजना गरेको साक्षात्कार कार्यक्रममा विद्यार्थी नेताहरुले शिक्षा क्षेत्रमा व्याप्त भ्रष्टाचार, अराजकता र अनुशासनहीनता विरुद्ध आन्दोलनमा जाने बताएका हुन् ।

साक्षात्कार कार्यक्रममा अनेरास्ववियुका जिल्ला अध्यक्ष शेखर खड्का झलक, अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य जीवन शर्मा र नेपाल विद्यार्थी संघका जिल्ला सचिव श्रीकृष्ण पौडेलले शिक्षा ऐन, नियम विपरित काम भइरहेको हुँदा यसको अन्त्य हुनुपर्ने धारणा राखे ।

बागलुड जिल्लाको शैक्षिक संस्थाहरुमा भैरहेको अराजकता, महंगो शु्ल्क, गुणस्तरहिन पढाई, गैरकानूनी भत्ता र कक्षा कोठा विना पोशाक ढिलो जाने र पुरा समय नपढाउने गैरजिम्मेवार शिक्षकहरुलाई संयुक्त विद्यार्थी संगठनको आन्दोलनले कारवाहि गर्ने चेतावनी समेत दिए ।

काकर्यक्रममा बोल्दै विद्यार्थी नेता जीवन शर्माले कानून विपरित खाएको रकम विद्यालयलाई फिर्ता गराउन जोरडार ढंगले लाग्ने बताए ।

साक्षात्कारमा बोल्दै अर्का विद्यार्थी नेता एवं अनेरास्ववियूका जिल्ला अध्यक्ष शेखर खड्काले राज्यको पैसा गैर कानुनी तरीकाले खाएको थाहा पाएको बताउँदै सो रकम फिर्ता गरेर आफ्नो अपराध स्वीकार गराउन आन्दोलनको आधीबेरी ल्याउने चेतावनी दिए ।

विद्यार्थीको शैक्षिक भविष्य विगार्ने र विद्यार्थी, अभिभावक र विद्यालयको सम्पत्तिमा लुट मच्चाउने जो कोहीको हिसावकिताव गर्ने नेपाल विद्यार्थी संघका जिल्ला सचिव श्रीकृष्ण पौडेलले बताए ।

कार्यक्रममा विद्यार्थी नेताहरूले हाल शिक्षा क्षेत्रमा हेलमेट शिक्षकहरूको जगजगी रहेको बताउँदै एकजना शिक्षकले ३ देखि ४ ठाउँमा पढाउने प्रवृत्तिले विद्यार्थी र विद्यालय दुवै पक्षलाई घाटा भएको बताए ।