पाकिस्तानलाई १ अर्ब अमेरिकी डलर सहायता दिन सक्छौं ट्रम्प

425
views

वासिंटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानलाई एक अर्ब अमेरिकी डलर सहायता दिन सक्ने बताएका छन् । पाकिस्तानी प्रधानमन्त्री इमरान खानसँगको भेटपछि उनले दुई देशबीचको सम्बन्धमा सुधार आएको भन्दै सहायता दिन सकिने बताएका हुन् ।

उनले ह्वाइट हाउसमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानसँगको बैठकपछि गत वर्षदेखि कटौती गरेको सहायता रकम दिन सकिने संकेत गरेका हुन् । गत वर्ष अमेरिकाले पाकिस्तानलाई दिदै आएको सैन्यसहित सबै प्रकारका सहयोग रोक्का गरेको थियो ।

ट्रम्प प्रशासनले पाकिस्तानमाथि आतंकवादीलाई सहयोग गरेकोलगायतका आरोप लगाउँदै सहयोग बन्द गरेको थियो ।

अमेरिकाले लगाउने आरोपको पाकिस्तानले सधैं खण्डन गर्दै आएको छ । ट्रम्पले पाकिस्तानी प्रधानमन्त्री खानसँगको भेटमा अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्न सहयोगका निम्ति पाकिस्तानसँग काम गर्न चाहेको बताए ।

यसअघि खानले अफगानिस्तान समस्याको समाधान वार्ताबाट मात्रै सम्भव रहेको बताएका थिए । यस्तै दुई नेताबीचको भेटका क्रममा काश्मिरको मुद्दासमेत उठेको छ ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानको ह्वाइट हाउस भ्रणमका क्रममा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले लामो समयदेखि जारी काश्मीरको द्वन्द्व समाधानका लागि मध्यस्थता गरिदिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई आग्रह गरेको बताए ।

तर भारतले तत्काल यसको खण्डन गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हालै भएको कुराकानीलाई स्मरण गर्दै उनले लामो समयदेखि भारत र पाकिस्तानबीचको विवाद कायम रहेको देखेर आफूलाई आश्चर्य लागेको बताए ।

उनले भने, ‘यदि म सहयोग गर्न सक्छु भने म मध्यस्थकर्ता बन्न मन पराउँछु । यदि तपाईंहरू मलाई मध्यस्थता गरोस् भन्ने चाहनुहुन्छ भने म मध्यस्थता गर्न तयार छु ।’

यता भारतीय विदेश मन्त्रालयले भने ट्रम्पसँग कहिल्यै यस्तो अनुरोध नगरिएको उल्लेख गरेको छ । उसले भारतले पाकिस्तानसँगका मुद्दाहरूलाई द्विपक्षीय रूपमा मात्र छलफल गर्ने निरन्तर अडान राख्दै आएको स्पष्ट पारेको छ । एजेन्सी