राष्ट्रिय सभाका अध्यक्षद्वारा तिजको शुभकामना

844
views

काठमाडौं, १६ भदौ । हिन्दू नारीहरुको विशेष पर्व हरितालिका तीजको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य र दीर्घायुको कामना गर्दै राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सनाले शुभकामना व्यक्त गरेका छन् ।

शुभकमना सन्देशमा भनेका छन् ‘नेपालजस्तो बहुसांस्कृतिक, बहुधार्मिक तथा बहुजातीय देशमा मनाइने विभिन्न चाडपर्वले आम नेपालीलाई एक सूत्रमा बाँध्न सहयोग गर्ने अपेक्षा गर्दछु। सांस्कृतिक सहिष्णुता र सामाजिक एकताको प्रतीकका रुपमा रहेको तीज पर्वले सम्पूर्ण महिलालाई एकताबद्ध भएर अगाडि बढ्न प्रेरणा मिल्ने विश्वास लिएको छु ।’

अध्यक्ष तिमिल्सिनाले चाडपर्वहरु मनाउँदा मौलिकतालाई जगेर्ना गर्दै निरन्तरता दिनु आवश्यक छ। तीज पर्वको पनि आफ्नै मौलिकता रहेको र तीज लक्षित गीतले समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्दै आएको स्मरण समेत गरेका छन् ।

उनले चाडपर्वहरु मनाउँदा भित्रिनसक्ने सामाजिक विकृतिप्रति सचेत हुँदै खर्चमा मितव्ययिता अपनाउन सम्पूर्ण नेपालीलाई अनुरोध गरेका छन् ।

पारिवारिक मिलन र सामाजिक सद्भाव बढाउने यस पर्वको अवसरमा सम्पूर्ण दिदीबहिनीहरुमा उमङ्ग, उत्साह र हौसला छाओस् हार्दिक शुभकामना उक्त सन्देशमा उल्लेख गरेका छन् ।