गौहत्या छानविन गर्न कर्णाली प्रदेशमा छुट्टै समिति

611
views

जितेन्द्र थापा
सुर्खेत । सुर्खेतमा भएको गौहत्या प्रकरण वारे छानविन गर्न कर्णाली प्रदेशमा छुट्टै समिति बनाइएको छ । प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भोला रावलको संयोजकत्वमा तीन सदस्यीय समिति बनाइएको हो । यो समितिले कर्णाली प्रदेशमा भित्रिएका चौपायाका बारेमा अनुसन्धान गर्ने भएको छ ।

गौहत्यासँग जोडिएको पाटो जिल्ला प्रहरी कार्यालयले हेर्ने र गठित समितिले प्रहरी चेकपोस्ट तथा सम्बन्धित युनिटहरुबाट केका आधारमा गाईगोरु भित्रिए भन्ने विषय हेर्ने डिआईजी जोशीले बताउनुभयो ।

बाँके नेपालगन्ज उपमहानगरबाट दैलेख लैजाँदै गरेका गाईगोरु भीरबाट खसालेको अभियोगमा प्रहरीको नियन्त्रणमा रहेका सात जनालाई अनुसन्धानका लागि सोमबार म्याद थपिएको छ ।
गाईगोरु बोकेका ट्रक चालक पाँच जना र दुई जना सहचालकलाई अनुसन्धानका लागि भन्दै जिल्ला अदालत सुर्खेतले सात दिनको म्याद थपेको हो ।

उनीहरूलाई प्रहरीले शुक्रबार पक्राउ गरेको थियो। चालक शत्रुधन चौधरी, दामोदर केसी, सागर विक, विवेक कुँवर, हिमबहादुर जिसी, सह–चालक अमृत चौधरी र कृष्णबहादुर बिसीलाई अनुसन्धानका लागि जिल्ला अदालत सुर्खेतले म्याद थप गरेको छ ।

नेपालगन्ज उपमहानगरमा रहेको कान्जीहाउसबाट तीन सय ७० गाईगोरु र बाच्छा बाच्छीलाई दैलेखको भैरवी गाउँपालिका–१ को श्रीस्थान र्पुयाउन भन्दै बीहिबार साँझ नेपालगञ्जबाट पठाइएको थियो । तीमध्ये केही गाईगोरु भीरबाट खसालेको अवस्थामा भेटिएका थिए । ३५ गाईगोरु मरेको भेटिएको छ ।

वीरेन्द्रनगरको ब्यूरेनी, सुब्बाकुना र कटकुवामा गाई भीरबाट खसालिएको थियो । तीमध्ये कटकुवामा २१, ब्युरेनीमा ८ र सुब्बाकुना नजिक ६ गाई मरेका हुन्। सबैलाई वीरेन्द्रनगर नगरपालिकाको सहयोगमा गाडिएको छ ।

गाई झारेर फर्कंदै गरेका ८ ट्रकमध्ये प्रहरीले बबईबाट पाँच ट्रकसहित चालक र सहचालक गरी सातजनालाई पक्राउ गरेको थियो। बाँकी तीनवटा ट्रक, तिनका चालक, नेपालगन्ज उपमहानगरपालिका अन्तर्गतको नगर प्रहरीका प्रहरी निरीक्षक सूर्य बोगटीसहित यसमा संलग्नहरुको खोजी कार्य भइरहेको प्रहरी नायब उपरीक्षक रबी रावलले जानकारी दिए ।

गाईगोरु ढुवानीसँग ढुवानीसँग जोडिएका सबैलाई अनुसन्धानको दायरामा ल्याएर कारबाही प्रक्रिया अघि बढाइने कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक पूर्णचन्द्र जोसीले बताए ।