मदन पुरस्कार विजेता न्यौपानेको ‘गुलाबी उमेर’ लोकार्पण

813
views

काठमाडौं । मदन पुरस्कार विजेता लेखक अमर न्यौपानेको चौथो कृति ‘गुलाबी उमेर’ को साहित्यकार कृष्ण धरावासी, नायिक केकी अधिकारी र लेखक न्यौपानेले लोकार्पण गरे । काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको डबलीमा भएको कार्यक्रममा मदन पुरस्कार विजेता साहित्यकार कृष्ण धरावासीले ‘गुलाबी उमेर’ नामकपुस्तक किशोर मनोविज्ञानमा आधारित रहेर लेखिएको बताउँदै किशोरीहरुको मनोविज्ञान कसरी विकास हुन्छ, बर्षैंपिच्छे उनीहरुको व्यवहारमा कसरी परिवर्तन हुन्छ र उनीहरुले आफ्नो परिवारसँग कस्तो व्यवहार गर्छन् भन्ने देखाउने प्रयासलाई उजागार गरेको बताए ।

धरावासीले फ्रायड प्रतिपादित इलेक्ट्रा कम्प्लेक्सलाई चित्रण गरिएको टिप्पणी गर्दै भने ‘उपन्यास लेखनमा केही नवीनता रहेको र प्रत्येक अध्यायको उपसंहारका रुपमा अर्को पाठक खडा गरिनु नौलो अभ्यास रहेको बताए ।

नायिका केकी अधिकारीले किताब एकदमै फरक लागेको प्रतिक्रिया लागेको भन्दै ‘पुस्तक पढिरहँदा मलाई आफैं किशोरवयमै फर्किएको अनुभूति भएको सुनाईन् । पुस्तकमा प्रत्येक किशोरीले आफूलाई भेटाउँछन् भने महिलाहरुले आफ्नो किशोरावस्थाका घटना परिघटनालाई सम्झने वाध्य पार्ने बताईन् ।

कार्यक्रममा लेखक न्यौपानेले आफूले १२ वर्षसम्म पढाउँदा किताबको कुरा पढाएको र किताबकै गृहकार्य दिए पनि विद्यार्थीहरुले भने आफूलाई जीवनको कुरा पढाएर जीवनकै गृहकार्य दिएको बताए ।
पुस्तकमा लेखकले एउटी किशोरीको हुर्कंदो उमेरको कथा पस्किएका छन् । बाल्यकालबाट किशोर अवस्थामा प्रवेश गर्दा एउटी किशोरीमा देखापर्ने मानसिक तथा शारीरिक परिवर्तन र उतारचढावको कथा बुनिएको छ ।

लेखकले किताबमा उमेरलाई पाँच भागमा विभाजन गरेका छन् । जन्मदेखि १२ वर्षसम्म पल्लवी उमेर, १३ देखि १९ वर्षसम्म गुलाबी र कल्पनाशील उमेर, २० देखि ४० वर्षसम्म मखमली ऊर्जावान् र शक्तिशाली उमेर, ४१ देखि ६० वर्षसम्म बैजनी, चिन्तनशील र दार्शनिक उमेर ६१ देखि मृत्युपर्यन्तको समयलाई अस्मानी उमेरका रुपमा पुस्तकका लेखले चित्रण गरेका छन् ।