नेपाल–भारत सिमा नाकामा नागरिक सहायता कक्ष

1088
views

काठमाडौँ, ११, असोज । भारतबाट स्वदेश फर्किने सर्वसाधारणको सुरक्षा तथा सुविधाका लागि नेपाल–भारत सीमाका ९१ नाकामा नागरिक सहायता कक्ष स्थापना गरिएको छ । दशैं मनउन स्वदेश आउने नेपालीहरुको सुरक्षा र सुविधाका लागि सशस्त्र प्रहरी बलले नागरिक सहायता कक्ष शुरु गरेको जनाएको छ ।

भारतमा वर्षभरि दुःख गरी कमाएको नगद तथा सरसामान दशैँ मनाउन घर आउँदा चोरी हुने, लुटिने र ठगी हुने जस्ता समस्या नियन्त्रण गर्न भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) सँगको सहकार्यमा सहायता कक्ष स्थापना गरिएको सशस्त्र प्रहरी बलका प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक सुरज श्रेष्ठले बताए ।

उनले भारतसँग सीमा जोडिएका प्रदेश १ को २० स्थान, प्रदेश २ को ४७ स्थान, प्रदेश ३ को एक स्थान, प्रदेश ४ को एक स्थान, प्रदेश ५ को १६ स्थान र सुदूरपश्चिम प्रदेशको छ स्थानमा सहायता कक्ष स्थापना गरिएको बताए ।

त्यसैगरी मुख्य तथा सहायक राजमार्गमा हुने सवारी लुटपाट, डकैती र दुर्घटना नियन्त्रण गर्न सशस्त्र प्रहरी बलले सडक सुरक्षा गस्ती समेत सुरु गरेको छ । पूर्वपश्चिम राजमार्गका अतिरिक्त तराई पहाड जोड्ने राजमार्गमा विभिन्न जिल्लाबाट सशस्त्र प्रहरी परिचालन गरिएको प्रवक्ता श्रेष्ठले बताए ।

सशस्त्र प्रहरी चाडबाडमा राजमार्ग सुरक्षामा परिचालन भएसंँगै यात्रु तथा सवारी साधन लुटिने र डकैती नियन्त्रणमा आएको उनको भनाइ छ । उनका अनुसार राजमार्गमा राति तथा दिउँसो पैदल तथा सवारी गस्ती नियमित गरिएको छ ।