सरसफाईमा सक्रिय ३२ युवा सम्मानित

371
views

पोखरा । पोखरा २७ रिठेपानीमा रहेको लिटल फ्लावर एजुकेशनल एकेडेमीले सरसफाइ अभियानमा सक्रिय ३२ युवालाई सम्मान गरेको छ ।

आईतवार विद्यालयमा सम्पन्न शैक्षिक सत्र २०७५ मा विद्यालयबाट एसईई उत्तिर्ण विद्यार्थीहरुको विदाई तथा रिठेपानी बृहत् सरसफाइ अभियानमा सुरुदेखि ६१ औं हप्तासम्म निरन्तर सक्रिय युवाहरुलाई सम्मान कार्यक्रममा उनीहरु सम्मानित भएका हुन् ।

हरेक वर्ष बडा दशैंको घटस्थापनाका दिन गरिदै आएको कार्यक्रमलाई निरन्तरता दिंदै यस वर्षपनि शैक्षिक सत्र २०७३ मा विद्यालयबाट एसईई परीक्षा उत्तीर्ण विद्यार्थीहरुलाई विदाईको साथमा युवाहरुलाई सम्मान गरिएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवेदार जगबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा राइजिङ्ग स्टार युवा क्लवका अध्यक्ष विष्णु गुरुङ लगायत लाइ सम्मान गर्दै पोखरा २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले शैक्षिक बिकासमा विद्यालयले खेलेको भूमिकाको चर्चा गर्दै एकजुट भएर यस क्षेत्रको पहिचान राख्न आग्रह गरे ।

कार्यक्रममा बोल्दै विद्यालयका डाइरेक्टर कमल खड्का, विद्यालय संस्थापक देवी खड्का, नेशनल प्याव्सान गण्डकी प्रदेश सदस्य प्रकाशराज वाग्ले, सल्लाहाकार लेप्टन धनबहादुर गुरुङ, पूर्वप्रिन्सिपल प्रकाश पन्तले विद्यार्थीहरुलाई आफू पुगेको ठाउँमा उत्कृष्टता देखाउन आग्रह गरेका थिए ।

शिक्षक रामकृष्ण आचार्यले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रममा चाडपर्व शुभकामना आदानप्रदान समेत गरिएको थियो ।

विदाई भएर जानेमध्येबाट मोनालिसा तामाङ्ग, राइजिङ्ग स्टार युवा क्लवका अध्यक्ष विष्णु गुरुङ लगायतले वोलेको कार्यक्रममा शिक्षक शिक्षिकाहरु, विद्यालय सञ्चालकहरु, अभिभावकहरु, आमा समूह, व्यवस्थापन समितिका पदाधिकारीहरु तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो । नृत्यहरु समेत प्रदर्शन गरिएको उक्त कार्यक्रमको सञ्चालन प्रिन्सिपल विष्णुहरि पौडेलले गरेका थिए ।