जापानमा ६ दशकयताकै शक्तिशाली आँधी, ५ को मृत्यु

470
views

टोकियो । जापानमा शनिबार आएको शक्तिशाली आँधीले राजधानी टोकियो तथा वरपरका क्षेत्रमा क्षति र्पुयाएको छ । अधिकारीका अनुसार ‘हगिबिस’ आँधी सन् १९५९ यताकै शक्तिशाली हो । आँधीका कारण भीषण वर्षा हुनुका साथै कपिय स्थानमा बाढी गएको छ । हालसम्म ५ जनाको ज्यान गएको अधिकारीले पुष्टि गरेका छन् । जापानी सञ्चामाध्यमका अनुसार दसौं हजार घरमा विद्युत् आपूर्ति बन्द भएको छ ।

जापानको जलवायु निकायका अनुसार आँधीसँगैको १८० किलोमिटर प्रतिघण्टाको हावाहुरीले थप वर्षा तथा बाढी निम्त्याउन सक्ने जनाएका छन् । भीषण आँधीसँगै रग्बी विश्वकप तथा फर्मुला–वानका केही खेलहरू स्थगित गरिएका छन् ।

अधिकारीहरूले सम्भावित जोखिमका क्षेत्रका स्थानीयलाई सुरक्षित स्थानमा सर्न सूचना जारी गरेका बीबीसीले जनाएको छ । आँधीको प्रभावका कारण कयौं उडानहरू रद्द भएका छन् भने रेल सेवा बन्द छ । आँधी प्रभावित मानिसलाई विभिन्न अस्थायी शिविरमा राखिएको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । टोकियोको पश्चिममा रहेको अस्थायी शिविरमा रहेका जेम्स बाबले ‘भीषण वर्षाका कारण आफ्नो घरनजिकैको नदी अनियन्त्रित भएपछि आफू विस्थापित भएको’ बताए । उनले भने, ‘म मेरी शारीरिक रूपमा अशक्त बहिनीसँगै शिविरमा छु । मेरो घर बाढीले बगाउन पनि सक्छ ।’ उनका अनुसार सरकारी अधिकारीले शिविरमा रहेका विस्थापितलाई बिस्कुट र ओढ्ने बाँडेका छन् ।

टोकियोको उत्तरी क्षेत्र टोचिगिका अंग्रेजी भाषा शिक्षक एन्ड्रिउ हिगिन्सले ७ वर्षयता आफूले निकै धेरै आँधी अनुभव गरेको बताए । ‘मलाई यो आँधी अन्यभन्दा निकै भयावह लागेको छ,’ उनले भने, ‘निकै धेरै मानिस आँधीमा फसेका छन् ।’

अस्थायी शिविरबाट जापानको सरकारी टेलिभिजनसँग कुरा गर्दै ९३ वर्षीयले भने, ‘आँधीले मेरो घरको छाना उडाएपछि म विस्थापित भएँ । मलाई मेरो घरको निकै चिन्ता लागिरहेको छ ।’

आँधी हालसम्म समुद्री क्षेत्रभन्दा बाहिर नै सक्रिय रहेको भए पनि टोकियोको पूर्वी क्षेत्रका चिबामा टोर्नाडोजस्तै हावाहुरी आएको अधिकारीले जनाएका छन् । जसका कारण उक्त क्षेत्रमा दर्जनौं घर क्षतिग्रस्त भएका छन् भने कारहरू पल्टेका छन् । फिलिपिनो भाषामा ‘गति’ बुझाउने हगिबिस आँधीले जापानको मुख्य द्वीप होन्सुलाई पूर्णरूपमा क्षतिग्रस्त बनाउने आंकलन गरिएको छ । अधिकारीका अनुसार हगिबिस आँधी सन् १९५९ मा जापानमा आएको भेरा आँधीपछिकै शक्तिशाली मानिएको छ । भेरा आँधीका कारण कम्तीमा ५ हजार मानिसको ज्यान गएको थियो ।

‘हगिबिस आँधीले जापानमा हालसम्मकै ठूलो वर्षा गराउने तथा हावाहुरी ल्याउन सक्छ,’ जलवायु संस्थाका अधिकारीले भनेका छन् । उनका अनुसार आँधी प्रभावित कपितय स्थानका मानिस थप सूचना तथा अधिकारीको सल्लाहका लागि पर्खिरहेका बीबीसीले जनाएको छ । जापानमा गतसाता आएको फाक्साई आँधीका कारण विभिन्न क्षेत्र प्रभावित बनेका थिए । आँधीले ३० हजारभन्दा बढी घर ध्वस्त पारेको थियो । एजेन्सी