सेनामा भ्रष्टाचार छानबिन गर्न विशेष संयन्त्र

380
views

काठमाडौं, १५, कार्तिक । नेपाली सेनाले आर्थिक हिनामिना भएको आशंकामा मातहतका अड्डामाथि आकस्मिक छानबिन थालेको छ । जंगी अड्डाले त्यस्तो छानबिन गर्न निगरानी संयन्त्र (ओभरसाइट सेल) बनाएको छ ।

जंगीअड्डाले सेनाका विभिन्न अड्डामा विनियोजित बजेट सदुपयोग भएरनभएको यकिन गर्न निरीक्षणाधिकृतको अध्यक्षतामा निगरानी सेल गठन गरेको हो । सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले निगरानी संयन्त्रले काम गर्न थालिसकेको बताए । ‘आकस्मिक खटिएको टोलीले सेनाका विभिन्न निकायमा विनियोजित रकमको उचित खर्च भएरनभएको यकिन गर्नेछ,’ पाण्डेले भने ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले सेललाई सेनाका जुनसुकै निकायमा आकस्मिक छानबिन गर्ने पूर्ण अधिकार दिएका छन् । निरीक्षणाधिकृत कार्यालय प्रमुखको जिम्मवारी उपरथी अशोक सिग्देलले पाएका छन् । उपरथी सिग्देलले विभिन्न फरकफरक टोली बनाई शंकास्पद सैनिक अड्डामाथि छानबिन थालेका छन् । फरकफरक टोलीले सम्बन्धित अड्डामा जानकारी नदिई आकस्मिक ढंगले छानबिन गर्नेछ ।

सैनिक अस्पताल, सैनिक सामग्री प्राप्ति निर्देशनालय, इन्जिनियरिङ विभागलगायत बजेट बढी विनियोजित भएका दुई दर्जन बढी सैनिक अड्डा छानबिनमा तानिएका छन् । आकस्मिक सेलले ती सैनिक अड्डामा गत आर्थिक वर्षमा भएका खर्च विवरणको समेत छानबिन गर्नेछ । सेलले चालू वर्षमा ती सैनिक अड्डामा भइरहेका खर्च विवरणसमेत छानबिन गरिरहेको छ ।

जंगीअड्डाले प्रधानसेनापति कमान्ड मार्ग्निर्देशन—२०७५ मा उल्लेख भएबमोजिम आकस्मिक छानबिन गर्न निगरानी सेल गठन गरेको हो । सेलले आन्तरिक निरीक्षण तथा अनुगमन गर्नेछ ।

प्रधानसेनापति थापाले शंकास्पद सैनिक अड्डाको आर्थिक कारोबार छानबिन गर्न निर्देशन दिएको सैनिक स्रोतले बतायो । सोही निर्देशनअनुसार निगरानी सेलले सैनिक अस्पताललगायतका केही कार्यालयमा आकस्मिक छानबिन गरिसकेको छ। अन्य शंकास्पद अड्डामा क्रमशः छानबिन हुनेछ ।

प्रधानसेनापति थापाले भ्रष्टाचार गर्ने जोकोही सैनिक अधिकारीमाथि कारबाही गर्ने सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् । सोहीबमोजिम नेपाली सेनाका विभिन्न कार्यालय, महानिर्देशनालय, निर्देशनालयलगायतका सैनिक अड्डामाथि छानबिन सुरु भएको हो ।

सैनिक अड्डाको आर्थिक कारोबार पारदर्शी नहुने भन्दै आलोचना भइरहेको छ। प्रधानसेनापति थापाले आर्थिक पारदार्शिता कायम गर्न कडा कदम चालेका हुन् । अन्नपूर्ण पोष्ट annapurnapost.com/news/139698 बाट