हङकङ चुनावमा प्रजातन्त्र समर्थकलाई ठूलो सफलता

402
views

हङकङ । हङकङमा विपक्षी आन्दोलनका सदस्यहरूलाई जिल्ला तहको चुनावमा ठूलो सफलता मिलेको छ । आइतबार भएको स्थानीय तहको निर्वाचनवाट अधिकांश स्थानमा विपक्षी आन्दोलनका सदस्यहरू निर्वा्चित भएका हुन् । साउथ चाइना मर्निङ पोस्टका अनुसार घोषित २ सय ४१ स्थान मध्ये दुई सय १ स्थानमा प्रजातन्त्र समर्थक विजयी भएका हुन् ।

बेइजिङ समर्थक उम्मेदवारले २८ स्थानमा मात्र जितेका छन् । निर्वाचन परिणामले हङकङ प्रशासनलाई प्रदर्शनकारीका कुरा सुन्न थप दबाबमा पर्ने अनुमान गरिएको छ । निर्वा्चित जिल्ला पार्षदहरुको भुमिका शहरको बस गुड्ने बाटो र फोहरमैला सङ्कलन जस्ता विषयमा हुन्छ ।

शहरको प्रमुख कार्यकारी रोज्ने विषयमा उनीहरूको कुनै भूमिका भने हुँदैन । निर्वाचनमा अहिलेसम्मकै धेरै अर्थात ७१ प्रतिशत मतदाताले सहभागिता जनाएका थिए ।

हङकङको स्थानीय चुनावलाई सङ्कटमा परेकी हङकङकी प्रमुख कार्यकारी क्यारी लामको समर्थनको परीक्षाको रूपमा हेरिएको छ । पाँच महिनासम्मको तनाव र प्रदर्शनपछि निर्वाचनले चिनियाँ सरकारलाई नयाँ सन्देश दिएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।