बनभोजबाट फर्केको अटो दुर्घटनाका पाँचै जनाको सनाखत

667
views

प्रकाश सापकोटा । चितवनको राप्ती नगरपालिका–५ मा शनिबार साँझ भएको अटो दुर्घटनामा परी ज्यान गुमाउने पाँचै जनाको सनाखत भएको छ । दुर्घटनामा परेका एक जना गम्भीर घाइते अवस्थामा छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा पर्वतको कुश्मा नगरपालिका पिपलटारी स्थायी ठेगाना भई हाल पूर्वी चितवनको खैरहनी नगरपालिका–८ बस्ने ४९ वर्षीय श्यामप्रसाद तिवारी, खैरहनी नगरपालिका–९ का ४२ वर्षीय विश्वमणी भण्डारी र राप्ती नगरपालिका–९ की २५ वर्षीया मीना खड्का रहेका छन् । उनीहरुको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको छ ।

यस्तै मृत्यु हुनेमा राप्ती नगरपालिका–९ की ३२ वर्षीया माया तामाङ र खैरहनी नगरपालिका–३ की ३९ वर्षीया मनमाया नेपाली रहेको प्रहरीले जनाएको छ । उनीहरुको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।

घाइते हुनेमा अटोचालक खैरहनी नगरपालिका–३ का २६ वर्षीय मणिराम गिरी छन् । घाइते गिरीको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको र अवस्था गम्भीर रहेको छ ।

शनिबार साँझ राप्ती नगरपालिका–४ चेपाङमार्गबाट भण्डारातर्फ आउँदै गरेको ना. १ ह ६४०९ नंको अटो राप्ती नगरपालिका–५ डुम्रेखाडी पुल नजिक अनियन्त्रित भई पल्टिएको थियो । उनीहरु सामूहिक वनभोजबाट फर्कने क्रममा अटो दुर्घटना भएको चितवन प्रहरीको भनाई छ ।