संसदको हिउँदे अधिवेशन आजबाट, प्रतिनीधिसभा बैठकको अध्यक्षता उपसभामुखले गर्ने

742
views

काठमाडौं, ४ पुष । संसदको हिउँदे अधिवेशन आजबाट शुरु हुँदैछ । विधेयक अधिवेशनका रूपमा लिइने हिउँदे अधिवेशनको तयारी पूरा भएको संसद सचिवालयले जनाएको छ ।आजबाट शुरु हुने अधिवेशनमा प्रतिनिधिसभाको पहिलो काम सभामुख चयन हुने छ । बैठक बसेको सातादिनभित्र सभामुख छानिसकिने संसद सचिवालयले जनाएको छ ।

सभामुख चयनपछि संसदका समितिमा रहेका र दर्ता भएका विधेयक प्रतिनिधिसभा बैठकका बिजनेस हुनेछन् । हाल प्रतिनिधिसभामा २७ वटा विधेयक छन् । जसमध्ये केही भर्खरै सचिवालयमा दर्ता भएका छन् भने केही समितिबाट पास भएर अधिवेशन शुरु भएलगत्तै बैठकमा पेश हुनेछन् ।

ती विधेयक समितिका दफावार छलफलका प्रतिवेदनसहित पेस हुनेछन् । प्रतिनिधिसभा अन्तर्गतका समितिहरूमा अहिले १५ विधेयक छन् । राष्ट्रियसभाका समितिमा छलफलका क्रममा ६ विधेयक रहेका छन् । संसद सचिवालयले विधेयक अधिवेशनमा संसद विजनेस विहिन नहुने बताएको छ ।

प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूले हालैमात्र १० विधेयक अध्ययनका लागि प्राप्त गरेका छन् । ८ विधेयक प्रतिनिधिसभा सदस्यहरूलाई अध्ययनका लागि वितरण गरिएको छ भने प्रतिनिधिसभाका सांसदले अध्ययनका लागि २ विधेयक प्राप्त गरेका छन् ।

प्रतिनीधि सभा बैठकको अध्यक्षता उपसभामुखले गर्ने
उपसभामुख शिवमाया तुम्बाहाङफेले प्रतिनिधिसभा बैठकको अध्यक्षता गर्ने भएकी छन् । यौन दुव्र्यवहार आरोपमा सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख नभएको अवस्थामा उपसभामुखले बैठकको अध्यक्षता गर्ने संवैधानिक व्यवस्था अनुसार उपसभामुखले नै बैठकको अध्यक्षता गर्ने भएकी हुन । तर, प्रतिनिधिसभा नियमावली र संसदीय अभ्यासले उपसभामुखलाई अध्यक्षता गर्न दिँदैन ।

संविधानको धारा ९१ को उपधारा (४) मा प्रतिनिधिसभाको सभामुखको अनुपस्थितिमा उपसभामुखले अध्यक्षता गर्ने व्यवस्था छ। प्रतिनिधिसभा नियमावलीमा भने बैठकको प्रारम्भ र स्थगन सभामुखले मात्र गर्न पाउने प्रावधान छ। संसदीय अभ्यास पनि बैठकको प्रारम्भ र स्थगन सभामुखले नै गर्दै आएको अवस्था छ ।

शुक्रबार सुरु हुन लागेको संसद् अधिवेशनको अध्यक्षता उपसभामुखले नै गर्ने टुंगो लागेको उनको सचिवालयले जनाएको छ । नियमावलीभन्दा संविधान माथि हुने भन्दै उपसभामुखलाई अध्यक्षता गराउन सत्तासीन नेकपा तयार भएको हो ।