१८ घण्टापछि अपहरणमुक्त भए अध्यक्ष शाही

799
views

दैलेख, ७, पुष । शनिबार मध्यराति घरबाटै पक्राउ परेका कर्णाली प्रदेश अन्र्तगत दैलेखको ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही  १८ घण्टापछि आइतवार अपहरणमुक्त भएका छन् ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले शाहीलाई शनिबार राति १२ बजे ठाटीकाँध–२ स्थित सेरीपाटा उनकै निवासबाट  अपहरण गरेका थिए। प्रहरीले गाउँपालिका अध्यक्ष शाहीलाई कालिकोटको शुभकालिका गाउँपालिकाको छाते जंगलबार आइतबार बेलुका साढे छ बजेतिर अपहरणमुक्त गरेको हो।

‘हामीलाई जानकारी भएको १३ घण्टे सफल अप्रेशनपछि गाउँपालिका अध्यक्ष शाहीलाई अपहरणमुक्त गर्न सफल भएका छौं,’ प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक डिआइजी पूर्णचन्द्र जोशीले भने, ‘अध्यक्षलाई अपहरणमुक्त गराउन केही राउण्ड फायर पनि गर्नुपर्यो।’ डिआइजी जोशीका अनुसार घेरा चारैतर्फबाट घेरा हालेर शाहीलाई अपहरणमुक्त गरिएको हो।

गाउँपालिका अध्यक्ष शाही अपहरणमा परेको जानकारी पाएलगत्तै प्रदेश प्रहरी कार्यालय सुर्खेत, जिल्ला प्रहरी कार्यालय दैलेख, कालिकोट र अछामबाट एक सय ६० जना प्रहरी परिचालन गरिएको थियो। प्रहरीले अपहरणमुक्त गरेको स्थान अपहरणमा परेको ठाउँबाट पाँच घण्टा उत्तरतर्फ पर्छ। स्थानीयले छातेको जंगलमा विप्लवका कार्यकर्ता रहेको जानकारी दिएपछि प्रहरीले चारैतर्फ जंगललाई घेरेको थियो।

स्रोतका अनुसार जिल्ला प्रहरी कार्यालय कालिकोटबाट खटिएका प्रहरी नायव निरीक्षक ९सई०को कमाण्डमा रहेको टोलीले शाहीलाई अपहरणमुक्त गरेको थियो । शाहीलाई अपहरणमुक्त गराउन गएको प्रहरी टोलीमाथि विप्लवका कार्यकर्ताले फायर खोल्नुका साथै प्रहरीको बाटो रोक्नका लागि जंगलमा ठूलाठूला ढुंगा खसालेका थिए।

‘गाउँपालिका अध्यक्षलाई सकुशलमुक्त गरेर सुरक्षित स्थानमा पुर्‍याएका छौं, विप्लव समूहसँग अहिले पनि फायरिङ भइरहेको छ,’ डिआइजी जोशीले भने, ‘अपहरणकारीलाई पक्राउ गर्न जंगल सर्च अभियान चलाइरहेका छौं।’

दुईसातादेखि चन्द समुहको निगरानिमा शाही

दैलेख जिल्लको पश्चिममा पर्ने विकट गाउँपालिका मध्येको एक ठाटीकाँधमा गाउँपालिका हो दुई सातादेखि प्रतिबन्धित विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो। दिनहुँजस्तो विप्लवका कार्यक्रम भइरहेका हुन्छन् ।

कहिले जनसभाका त विरोध कार्यक्रम कहिले सांस्कृति कार्यक्रमका नाममा ठाटीकाँधमा विप्लव समूहले आफ्नो सक्रियता बढाएको थियो। यो विषयमा स्थानीय सरकारलाई मात्रै होइन्, प्रहरी–प्रशासनलाई पनि राम्रोसँग जानकारी थियो। ‘अहिलेसम्म विप्लव समूहले ठूला घटना नघटाएकाले हामीले उनीहरुका गतिविधिलाई सामान्य रुपमा लियौं,’ एक वडा सदस्यले भने, ‘उनीहरुको उद्देश्य अर्कौ रहेछ बल्ल हामीलाई थाहा भयो।’

घरमा सुतिरहेका अध्यक्ष शाहीलाई विप्लव समूहका १५ कार्यकर्ताले अपहरण गरेका थिए। उनीसँगै अपहरणमा परेका भाई हस्त शाहीलाई घरदेखि एक घण्टा टाढाको बाजपानीसम्म लिएर अपहरण मुक्त भएका थिए भने श्रीमती इलामल्ल शाहिलाई आइतबार विहान नौ बजेतिर छिमेकको आठबीस नगरपालिका–९ र ठाटीकाँध–४ को सीमानामा पर्ने सुकाटे जंगलबाट सम्पर्कमा आएकी थिइन्।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीको कार्यकर्ताकोे समुहले गाउँपालिका अध्यक्ष शाहीको रिहाईका लागि अहिलेसम्म पक्राउ परेका आफ्ना नेता तथा सर्बैकार्यकर्ता छोड्न  माग गरिएको थियो थियो । भेरी–कर्णाली ब्यूरो इन्चार्ज रवीले आइतबार बेलुका जारी गरेको विज्ञप्तिमा गाउँपालिका अध्यक्षमाथि चरम भ्रष्टाचार, अनियमितता र कमिसन खाएको र आफूहरुको पार्टिको सिआइडि  गरेको आरोप पनि लगाइएको थियो।