तरकारी पिता: जसले तरकारीमा पैसा दौडिरहेको देखे

तरकारी र कुखुराबाट वार्षिक ३ लाखसम्म आम्दानी

2485
views

जितेन्द्र थापा
दैलेख, १२, पौष । भनिन्छ, केही गर्नु छ त सुरु आफैंबाट गर्नुपर्छ । यसका सुहाउँदा पात्र हुन नेम बहादुर विष्ट । दैलेखको ठाँटिकाँध गाउँपालिका–२ उनिकोटका ३५ बर्षिय बिष्ट ठाँटिकाधका लागि तरकारीका पिता नै मानिन्छन् । बिहानको मिर्मिरे घाम र साँझको झिसमिसेसम्म माटो, पानी र विरुवासँग खेल्दै तरकारी खेतीमा जम्दै गएका छन् ।

आँफुसँग भएको घर अगााडिको १० रोपनी बारी उनका लागि अमेरिका, अष्ट्रेलिया, कोरिया, र जापान बनेको छ । तरकारीको विरुवा आफ्नै बारीमा उत्पादन गरेर तिनै विरुवामार्फत व्यावसायिक रुपमा तरकारी खेती गर्ने बिष्टले तरकारीका बेचेर नै मासिक ३० हजारभन्दा बढि आम्दानी गर्छन् ।

दैलेखको पश्चिममापर्ने विकट गाउँपालिका भएपनि पर्यटकीय रुपमा एकदमै सुन्दर छ त्यहि पर्यटकिय स्थल ठाँटिकाँध गाउँपालिका वडा २ कार्यालय देखि करिब ३० मिटर नजिक छ हुईता जाने बाटोको छेउमै बिष्टको घर ।

उनीसँग भएको १० रोपनी जग्गामा गोलभेडा, टमाटर, काउली, मुला, गाँजर, धनियाँ, साग र अन्य लहलाउँदा तरकारीहरु लटरम्मै छन् । उनले दुईवटा कुखुरा फर्ममा गाँउमै लोप हुन लागेको लोकल कुखुरा पालेका छन् । बाख्रापालन, कुखुरापालन, र फलफुलखेति समेत मेरो कृषि व्यावसाय हो विष्ट भन्छन् ‘दुईवटा पोलियो हाउसमा करिब ५०० केजी टमाटर बजारमा पु¥याइसकिएको र अझै ११ सय केजी टमाटर उत्पादन हुँदैछ ।’

सिजन र बेसिजनमासमेत तरकारि उत्पादन गर्ने विष्टले शुद्ध र अर्गानिक तरकारी उत्पादन गर्छन् । बारीमा फलेको तरकारी र गुणका कारण लामो समयसम्म टिकेको विष्ट बताउँछन् । विषादीका कारण मानिसको स्वास्थ्यमा प्रत्यक्ष असर गर्छ भन्ने विषयमा गाईंगुईं सुनेका विष्टलाई कहिल्यै पनि तरकारीमा विषादी प्रयोग नगरी जडिबुटीबाट बनाइएको मल प्रयोग गर्ने बताउँछन् ।

ठाँटिकाँध गाउपालिकामा विष्टकै देखासिकि गरेर अहिले गाउँपालिकाको विभिन्न वडाहरुमा यस्तै तरकारी व्यवसाय गर्नेहरुको होडबाजी चल्ने गरेको स्थानिय दिनेश थापाको भनाई छ ।

मानिसहरु अहिले छिटो र सस्तोका लागि तरकारिजन्य बस्तुमा पनि किटनासक औषधी प्रयोग गर्छन् । औषधीले मानिसको शरिरमा कति असर गर्छ भन्ने खासै चासो राख्दैनन् । तर विष्टले उपभोक्ताको हितमा हुनेगरी गाउँघरकै मल उत्पादन गर्दै आएको बताउँछन् ।

आफुले उत्पादन गरेको तरकारीको माग स्थानिय बजारमै खपत भैरहेको र तरकारीको माग बढ्दो रहेको उनको भनाई छ । ठाँटीकाँध गाउँपालिकाका यि तरकारी पिता भन्छन् ‘मैले तरकारी र कुखुराबाट वार्षिक २ देखि ३ लाखसम्म आम्दानी गर्न सफल भएको छु, विदेशमा गएर मिहेनत गर्नुभन्दा स्वदेशमै रमाऊ, परिवारसँगै रमाऊ ।’