आइएसद्वारा ११ इसाई बन्धकको हत्या

501
views

पुष १२, २०७६

चरमपन्थी इस्लामिक स्टेट आइएस समूहले आफ्नो नियन्त्रणमा रहेका ११ जना इसाई बन्धकको शिरोच्छेदन गरी मारिदिएको छ।

नाइजेरियास्थित बोको हराम समूहको एक जत्थाले यी इसाईहरुको हत्या गरेको छ।नाइजेरियामा लामो समयदेखि आतंक मच्चाउँदै आएको बोको हराम अहिले आइएसको वेस्ट अफ्रिका प्रोभिन्स मातहत छ।

नियन्त्रणमा रहेका इसाईहरुको हत्या गरेपछि आइएसले एक भीडियो समेत जारी गरेको छ, जहाँ केही मानिसहरुको शिरोच्छेदन गरिदिएको दृश्य देखाइएको छ।आइएसको तथाकथित समाचार एजेन्सी अमाकले जारी गरेको सो भीडियो ५६ सेकेण्ड लामो छ। मारिनेहरुको पहिचान नखुलेपनि ती सबै पुरुष रहेको बुझिएको छ।

उनीहरुलाई आइएसले नाइजेरियाको उत्तर–पूर्वी बोर्नो राज्यबाट अपहरण गरेको थियो। यो हत्यालाई आइएसले आफ्ना प्रमुख अबु बकर अल बग्दादीको हत्याको बदलाको रुपमा अर्थ्याएको छ। आइएसका प्रमुख बग्दादीलाई अमेरिकी सेनाको विशेष टुकुटीले यही अक्टोबरमा मारिदिएको थियो। सिरियाको इडलिबमा गरिएको सैन्य कारबाहीमा बग्दादीसहित उनका परिवार र आइएसका प्रवक्ताको पनि मृत्यु भएको थियो।