छाउपडी विरुद्धमा सरकार सक्रिय- देशभर करिब १३ सय छाउगोठ भत्काइए

810
views

पुष २२, २०७६
काठमाडौं:छाउपडि उन्मुलनका लागि थालिएको अभियान अन्तर्गत अहिलेसम्म करिब १३ सय छाउगोठ भत्काइएको गृह मन्त्रालयले जनाएको छ । सबैभन्दा बढी अछाममा ९ सय ४९ र सुर्खेतमा ३ सय गरी पुस २० गतेसम्म १ हजार २ सय ७६ छाउगोठ भत्काइएको मन्त्रालयले जनाएको छ ।

आज संसदका महिला तथा सामाजिक समितिमा गृहसचिव प्रेमकुमार राईले प्रस्तुत गरेको तथ्यांक अनुसार बझाङमा ७, दैलेखमा १७, सल्यानमा २ र जाजरकोटमा १ छाउगोठ भत्काइएका छन् । यस वर्ष्भित्र छाउगोठ उन्मुलन गर्ने अभियान नै सञ्चालन भएको छ । सुर्खेतमा १५ सय छाउगोठ भत्काउन बाँकी रहेको छ । त्यसैगरी अछाममा २ सय ५१ र जाजरकोटमा ४ वटा छाउगोठ भत्काउन बाँकी रहेको सचिव राईले बताएउनुभयो ।

जिल्ला प्रशासन कार्यालय र स्थानीय तहहरुमा सेवा लिन आउने सेवाग्राहीहरुलाई छाउगोठ राख्न नराख्ने व्यहोराको पत्रमा लिखित हस्ताक्षर गराउने अभियान थालिएको उहाँले बताउनुभयो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले गाउँघरमा अझै किशोरी तथा युवतीहरुलाई भोली दुःख हुन्छ भनेर डर देखाउने भएपछि उनीहरु पनि छाउकोठमा जान बाध्य भएको बताउनुभयो ।छाउपडि हटाउने अभियान जारी रहे पनि विभिन्न अदृश्य शक्तिहरुको डर देखाएर तर्साउने गरेको पाइएको उहाँको भनाई छ ।

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले छाउपडिविरुद्ध जनचेतनामुलक कार्यक्रम सञ्चालनका लागि १ करोड रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिनुभयो । त्यसैगरि छाउ भएको समयमा विद्यालय जान नपाउने अवस्थाको अन्त्य गर्न पनि अभियानले सहयोग गर्ने उहाँले बताउनुभयो । महिनावारीको समयमा पौष्टिक खानेकुराको उपलब्धताका लागि पनि यस अभियान सार्थक हुने उहाँको भनाई छ ।