सुदूरपश्चिममा हिमपात, जनजीवन प्रभावित

690
views

डडेल्धुरा, २४, पौष । सुदूरपश्चिममा तेस्रोपटक भारी हिमपात भएको छ । हिमपातका कारण मुख्य राजमार्ग अवरुद्धसँगै जनजीवन प्रभावित बनेको छ । यहाँ बुधबार रातिदेखि हिउँ परिरहेको छ । डडेल्धुरा जिल्ला सदरमुकामसहित घना जङ्गल एवं उच्च पहाडी भेगमा हिमपात भएपछि अत्यधिक चिसो बढेको स्थानीयको भनाई छ ।

सुदुरपश्चिमका डडेल्धुरालगायत बैतडी, बझाङ, डोटी, अछाम, बाजुरा र दार्चुला जिल्लाका उच्च लेकाली भेगमा हिमपात शुरु भएसँगै चिसो बढेको हो ।

हिमपातले सुदूरपश्चिमका पहाडी सात जिल्ला बैतडी, डडेल्धुरा, डोटी, अछाम, बाजुरा, दार्चुला र बझाङका सडक अवरुद्ध भएका छन् । सुदूरपश्चिम प्रदेशको मुख्य राजमार्गका रूपमा रहेको भीमदत्त राजमार्ग, दशरथचन्द राजमार्ग र जयपृथ्वी राजमार्ग पूर्णरूपमा अवरुद्ध छन् ।

बिहान २ बजेदेखि शुरु भएको हिमपातले बैतडीको खोड्पे बजार, ढोल्यामोट, सिरभाबर, मुस्याचौर, सतबाजलगायतका स्थानमा राजमार्ग पूर्णरूपमा बन्द रहेको छ ।