पृथ्वीनारायण शाह ऐतिहासिक युग पुरुष

735
views

पोखरा, २७, पौष । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालद्वारा आयोजित विचार गोष्ठीका वक्ताले पृथ्वीनारायण शाहलाई ऐतिहासिक युग पुरुषका रूपमा स्मरण गर्नुपर्ने धारणा राखेका छन् । संस्थाका अध्यक्ष डा. नारायणप्रसाद अधिकारीले शाहको तस्वीरमा माल्यार्पण गर्दै गोष्ठीको उद्घाटन गरेका थिए ।

पुस २७ राष्ट्रिय चाड विषयक गोष्ठीमा अध्यक्ष अधिकारीले नेपालको इतिहास लेखन नै गलत भएका कारण ऐतिहासिक सन्दर्भ महत्व ओझेलमा परेको बताए ।

प्रा.डा. भवानीप्रसाद पाण्डे भाष्करले देशको इतिहासका लागि देशका जनता जानकार हुन आवश्यक रहेको बताउँदै अनेक झुटा किंवदन्ती जोडेर शाहलाई तानाशाही र अपराधी बनाउन खोजे पनि शाह संरक्षणवादी अद्वितिय व्यक्तित्व भएको चर्चा गरे ।

पाण्डेले सबै राजाको राज्य रहेका बेलाउनले राजालाई नै जितेर एक राज्य बनाउनु समयको माग भएकाले उनलाई पतित बनाउन खोज्नु नेपालीमा मौलाएको पाखण्डीपन भएको स्मरण गर्दै भने– इतिहास परिहास हुनु हुँदैन ।’

प्राज्ञ रमेश श्रेष्ठले पृथ्वी चोकको शालिक भत्काउनु भीडहरुको दोष भएको भन्दै दुःख व्यक्त गरे । प्रज्ञा प्रतिष्ठानको कला विभाग प्रमुख रहँदापनि पृथ्वीचोकको शालिक भत्काएको सन्दर्भमा धेरै चर्चा भएको स्मरण गर्दै भने ‘मूर्ति भत्काउनु कलाको विनाश हो, अमर चित्रकारले बनाएको इतिहास अब कहिल्यै बन्दैन ।’ उनले ढुंगामाटाका संरचना पुराना हुँदा अस्तित्व समाप्त हुने तर सुनको अस्तित्व कहिल्यै नहराउने भएकाले शाहलाई सुनसँग तुलना गरे ।

विश्वहिन्दू महासंघका उपाध्यक्ष शंकर बरालले स्मार्ट सिटीको अवधारणानुरुप चोकका सम्पूर्ण शालिक हटाउने गरी भएको सम्झौता कार्यान्वयन नभए पृथ्वीनारायण शाहको योगदानको उपेक्षा हुने बताए ।

पुष २७ राष्ट्रिय चाड विषयमा कार्यपत्र प्रस्तुत गर्दै प्रज्ञाप्रतिष्ठानका प्राज्ञ सभासद् सूर्य खड्का बिखर्चीले शाहको प्रजा बलिया हुनुपर्ने, जाई कट नगर्नु नुहने, घुस लिन्या र दिन्याप्रति प्रशासन र न्यायलय कठोर हुनुपर्ने दिव्योपदेशलाई हेर्दा उनी एकताका प्रतिमूर्ति भएकाले पुस २७ लाई राष्ट्रिय एकतादिवसका रुपमा आम नेपालीले आफ्नो चाड मान्नुपर्ने धारणा राखे ।

बिखर्चीले भने ‘सधै महापुरुष जन्मदैन हामी शाहले रक्षा गरेको पुरानै नेपालको नयाँ व्यवस्थामा रहेकाले उनले गरेको भौगोलिक एकीकरणलाई आत्मसात गर्न आवश्यक छ ।’