प्रदेश ५ को नाम र राजधानी तोक्न माग

504
views

बुटवल, ६, माघ ६ । प्रदेश सभाको पाँचौँ अधिवेशनमा बोल्ने प्रदेश सभाका सदस्यहरूले प्रदेशको राजधानी र नाम टुङ्गो लगाउन माग गरेका छन् । प्रदेश सभाको पाँचौँ अधिवेशन चार महिनापछि आइतबारदेखि सुरु भएको छ । प्रदेश सदस्यहरुले यही अधिवेशनबाटै ना र राजधानी टुङ्गो लगाउन माग गरेका हुन् ।

सभामा नेकपाका प्रमुख सचेतक भूमिश्वर ढकालले प्रदेशको राजधानी र नाम सिफारिस गर्न गठन भएको विशेष समितिले प्रदेश सभामा प्रतिवेदन बुझाइसकेको र अब प्रतिवेदनमाथि छलफल गर्दै प्रदेशको राजधानी र नाम यही अधिवेशनबाटै टुङ्गो लगाउनुपर्ने धारणा राख्नुभयो ।

उहाँले विशेष समितिले बुझाएको प्रतिवेदनमाथि प्रदेश सभाका सदस्यहरूले छलफल गरी सबैलाई मान्य हुने नाम र राजधानीको विषय टुङ्गो लगाउन ढिलाइ गर्न नहुने धारणा राख्नुभयो ।

उहाँले सहमति र संवादकै माध्यमबाट विगतमा पनि प्रदेश सभा अघि बढेको र अब पनि प्रदेश सभालाई सहमति र संवादकै थलोका रूपमा अघि बढाउन जरुरी रहेको समेत जोड दिनुभयो ।

नेपाली काँग्रेसकी सचेतक निर्मला क्षेत्रीले जनताको मर्म र भावनाअनुसार अब प्रदेशको राजधानी र नाम तोक्ने काममा ढिलाइ गर्न नहुने भन्दै प्रदेश सभाको ध्यानाकर्षण गराउनुभयो ।

प्रदेशको नाम र राजधानीको विषयमा जनताले धेरै चासो र चिन्ता गर्न थालेको भन्दै उहाँले अब यही अधिवेशनले टुङ्गो लगाउने विश्वास आफूले लिएको बताउनुभयो ।

समाजवादी पार्टीका सांसद सन्तोष पाण्डेले प्रदेशको नाम र राजधानीको विषय अहिले सबैको चासो र चिन्ताको विषय भएकाले यस विषयमा प्रदेश सभामा गम्भीर रूपमा छलफल र बहस होस् भन्नुभयो ।

उहाँले प्रदेशका जनता अझै पनि गरिबी र भोकमरीबाट आक्रान्त रहेकाले मुख्यमन्त्रीको नेतृत्वमा खाद्य योजना संयन्त्र बनाउन माग गर्नुभयो । निजी क्षेत्रले अहिले २०–२५ रुपियाँमा गरिब जनतालाई खाना खुवाइरहेकाले प्रदेश सरकारले पनि कल्याणकारी कार्यक्रममार्फत गरिब जनतालाई भोजनको व्यवस्था गर्न सांसद पाण्डेले माग गर्नुभयो ।

नेपाली काँग्रेसका सांसद फकरुद्दीन खानले जनताको गुनासो सुन्ने प्रतिनिधिहरूले प्रदेश सभामार्फत नै सरकारको ध्यानाकर्षण गराउने भएकाले लामो समयसम्म प्रदेश सभाको अधिवेशन नहुँदा बाहिर राम्रो सन्देश नगएको बताउनुभयो ।

उहाँले प्रदेशको राजधानी र नाम एकमतले टुङ्गो लगाउन सकेमा बाहिर राम्रो सन्देश जाने र त्यसले प्रदेशकै गरिमा बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

नेकपाका सांसद दीपेश थारूले जनताले अनुभूति पाउने गरी प्रदेश सभाले अब प्रदेशको राजधानी र नाम पाउने विश्वास व्यक्त गर्दै यही अधिवेशनले नै यसको टुङ्गो लगाउनुपर्ने धारणा राख्नुभयो । प्रदेश सभामा बोल्दै राष्ट्रिय जनमोर्चाकी सांसद तारा जिसीले अहिले तीव्र विवादका रूपमा देखापरेको एमसीसी खारेज गर्नुपर्ने बताउनुभयो ।

त्यसअघि प्रदेश सभाको बैठक सुरु गर्दै सभामुख पूर्णबहादुर घर्तीमगरले प्रदेश प्रमुख धर्मनाथ यादवले प्रदेश सभाको बैठक आह्वान गर्नुभएको पत्र पढेर सुनाउनुभएको थियो भने चौथो अधिवेशनबाट पारित भई प्रदेश प्रमुखबाट प्रमाणीकरण भई आएको प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकसम्बन्धी पत्र सभामुखले पढेर सुनाउनुभएको थियो । प्रदेश सभाको अर्को बैठक माघ १२ गते बस्ने भएको छ ।