जलजला गाउँपालिकामा नेकपाको १४ बुंदे माग

490
views

पर्वत, ७, माघ । नेपाली काँग्रेसले जितेको जलजला गाउँपालिकामा पछिल्लो समय एकलौटी हुन थालेपछि सञरुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले १४ बुंदे माग राख्दै ज्ञापन–पत्र बुझाएको छ । नेकपाको जलजला गाउँपालिका कमिटिका अध्यक्ष दिपक आचार्य सहितको टोलीले गाउँपालिका उपाध्यक्ष सिमा गर्बुजालाई ज्ञापन – पत्र बुझाएको हो ।

नेकपाले गाउँपालिकाबाट प्रवाह हुने सेवाप्रवाह, विकास निर्माण र जनताको सरोकारका विषयहरुलाई समेटेर ज्ञापनपत्र बुझाएको पालिका कमिटि अध्यक्ष दिपक आचार्यले बताउनुभयो ।

जनप्रतिनिधिहरुको मनोमानी बढेको,सेवाप्रवाहमा राजनीतिक आस्थाका आधारमा भेदभाव गरिएको लगायतका विषयहरुलाई तत्काल सुधार गर्न भन्दै नेकपाले १४ बुँदै माग राख्दै ज्ञापन पत्र बुझाएको हो । आफ्ना मागहरु पुरा नभए चरणबद्ध रुपमा आन्दोलनमा जाने समेत नेकपाले चेतावनी दिएको छ । गाउँपालिकाबाट विनियोजन हुने बजेट समानुपातिक नभएको,जनप्रतिनिधिहरुले मनोमानी ढङ्गले बजेट विनियोजन गरेको, गाउँपालिकाको क्षमताले धान्नै नसक्ने गरी राजनीतिक स्वार्थका आधारमा करारमा कर्मचारी भर्ना गरेको,जनप्रतिनिधिले आफ्ना नातेदारहरुलाई उपभोक्ता समितिमा राखेर आर्थिक अनियमिताता गरेको लगायतका विषयहरु ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

यसैगरी वडाले उपभोक्ता सहितिलाई दिने सिफारिस दिँदा राजनीतिक आस्थाका आधारमा भेदभावपूर्ण व्यवहरा गरिएको, गाउँपालिकाबाट सेवा लिँदा फरक राजनीतिक विचार राख्ने नागरिकहरुलाई दुःख दिने गरेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।