सिन्धुपाल्चोकमा फैलिएको संक्रमण कोरोना नभएको पुष्टि

591
views

सिन्धुपाल्चोक, २९, माघ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका गुम्बागाउँमा भाइरल संक्रमण भए पनि कोरोना भाइरसको संक्रमणको सम्भावना नरहेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाईंले आफू मंगलबारबाट अध्ययनमा लागेको र त्यहाँ चीनबाट कसैको पनि आवतजावत नभएकाले कोरोना नभएको बताए ।

उनका अनुसार आफूहरूले सो गाउँको यात्रा विवरणबारे बुझ्न लगाएको र निरन्तर अध्ययनमा नै रहेकोले सो क्षेत्रमा हाल देखा परेको भाइरल संक्रमणको उपचारमा गाउँपालिकाका स्वास्थ्य केन्द्रमा कार्यरत हेल्थ असिस्टेन्ट परिचालन गरी उपचार शुरु गरिएको छ । बिरामीमध्ये केहीलाई निकोसमेत भएको जानकारी आफूले पाएको प्रमुख चापागाईंले बताए ।

साथै त्यहाँको भाइरल संक्रमणबारे जाँच गर्न आफूहरूले टेकुस्थित सरुवा रोग महाशाखालाई अनुरोध गरेको र महाशाखाले पनि चाँडै टोली त्यसतर्फ पठाउने जानकारी गराएको उनको भनाइ छ ।

गाउँमा भाइरल संक्रमण भएपछि कोरोना भाइरसको लक्षणसँग मिल्दोजुल्दो भएको भन्दै गाउँपालिकाले सहयोगका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचारसमेत गरेको छ । सो स्थानमा विगत तीन दिनदेखि बिरामीको संख्या बढेको हो ।

बुधबार बिहानसम्म २ सय १ ले बिरामी परेको भन्दै नाम दर्ता गराएका छन् । उनीहरूमध्ये १५० मा रुघाखोकी र अत्यधिक ज्वरो देखिएको अध्यक्ष होमनारायण श्रेष्ठले बताए ।