प्रचण्डलाई जुत्ता हान्ने रतनलाई सातदिन म्याद थप

550
views

काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार गर्ने जुम्लाका रतन तिरुवालाई जिल्ला प्रशासन कार्यालय काठमाडौँले अभद्र मुद्दामा सात दिनको म्याद थप गरेको छ ।

आइतबार जुम्लाका २१ वर्षीय रतन तिरुवाले राष्ट्रियसभा गृहमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि जुत्ता प्रहार गरेका थिए ।

प्रहरीले तिरुवालाई ततकाल नियन्त्रणमा लिएको थियो । यद्यपि, प्रचण्डलाई जुत्ता भने लागेको थिएन ।

तिरुवाले आफू सहिद परिवारको भएको र माओवादी संघर्षका क्रममा बाबुको ज्यान गएको दाबी गरेका छन् । यता, सत्तारुढ दल नेकपा जुम्लाले भने आइतबार नै एक विद्दप्ति जारी गर्दै रतन सहिद परिवारको सदस्य नभएको र विप्लव कार्यकर्ता रहेको जनाएको छ ।

प्रचण्डमाथि जुत्ता प्रहार प्रकरणको छानबिन गर्न महानगरीय प्रहरी कार्यालय रानीपोखरीले एसएसपी सहकुल बहादुर थापाको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति समेत गठन गरेको छ ।

समितिमा एसएसपी थापाको नेतृत्वमा परिसरका डीएसपी होविन्द्र बोगटी र महानगरीय प्रहरी वृत सिंहदरबारका इन्सपेक्टर युवराज तिम्लिसिना रहेका छन् ।