दाहाल– देउवा गठबन्धनको अप्ठेरो

दुई चरणमा निर्वाचन गराउने दाहालको प्रस्ताव

1292
views

नवदृष्टि संवाददाता
काडमाण्डौ, २५, चैत्र । सत्तारुढ दल माओवादी केन्द्र र नेपाली काँग्रेसकाबीच सत्ता हस्तान्तरणको विषय उठेको छ । दाहाल देउवा गठबन्धनले दुवैलाई अप्ठ्यारोमा पारेको छ । संविधान संशोधन र स्थानीय तह निर्वाचनको प्रतिबद्धता सहित सरकारको नेतृत्व गरेका प्रधानमन्त्री पुष्पकमल दाहालले अन्तिम समयमा दुई चरणमा निर्वाचन गर्ने प्रस्ताव गरेपछि कांग्रेसले पुर्व सहमति अनुसार सत्ता हस्तान्तरणको विषयलाई उठाएको हो ।
स्थानीय तहको निर्वाचन आउन ३७ दिन बाँकी रहेका बेला सत्ता हस्तान्तरणको विषयले राजनीतिक अन्योल बढेको छ । सत्तारूढ दलभित्र कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने विषयमा आन्तरिक छलफल सुरु भएपनि त्यसले फरक नपार्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए ।
‘माओवादी नेतृत्वको सरकारले चैतभित्रमा नै स्थानीय तहको निर्वाचन गराउने सहमति भएको सत्य हो । प्राविधिक कारण निर्वाचन मिति वैशाख ३१ गते कांग्रेसकै सहमतिमा घोषणा गरिएको हो, घोषणा गरेअनुसार माओवादी नेतृत्वमा निर्वाचन हुने र स्थानीय तहको निर्वाचन सम्पन्न भएको केही दिनमै पूर्वसहमति अनुसार कांग्रेसलाई सत्ता हस्तान्तरण गर्न प्रधानमन्त्री दाहाल तयारी अवस्थामा छन् ।
गत १५ गतेको काँग्रेस केन्द्रीय समिति बैठकमा उपप्रधानमन्त्री विमलेन्द्र निधिले प्रचण्ड सरकारको आयु चैत मसान्तसम्म भएको र वैशाखपछि देउवाले नेतृत्व गर्ने लिखित सहमति भएको जानकारी गराएका थिए । बैठकमा दाहालले गरेको लिखित सहमति सुरक्षित रहेको र आवश्यक पर्दा सार्वजनिक हुने कुरा समेत उठाएका थिए ।
काँग्रेसभित्र सत्ता हस्तान्तरणको कुरा उठिसकेको छ । प्रचण्ड नेतृत्वको कार्यकाल चैत मसान्तसम्म मात्रै हो, त्यसपछि शेरबहादुर देउवाको कार्यकाल शुरु हुने लिखित सहमति रहेको काँग्रेसले जनाएको छ । स्थानीय तहको निर्वाचन मिति घोषणा गरिसकेको अवस्थामा दाहाललाई वैशाख मसान्तसम्मको समय दिएको समेत निधिले कांग्रेस बैठकमा बताएका थिए । तोकिएको मितिमा चुनाव सम्पन्न गर्न नसके सरकार छाड्नुपर्ने निधिको तर्क छ । जेठ पहिलो सातामा सत्ता हस्तान्तरण गर्ने र वैशाख ३१ गते निर्वाचन गराउने कांग्रेस तयारी छ ।
ओली सरकार ढालेर कांग्रेसको समर्थनमा साउन १८ गते प्रधानमन्त्रीमा निर्वाचित दाहाल स्वयंले आठ महिना सरकारको नेतृत्व गरिसकेका छन् । प्रधानमन्त्रीको काम कार्वाहीप्रति काँग्रेसभित्र शंका उब्जिन थालेको छ । प्रहरी महानिरीक्षक नियुक्ति र उपप्रधानमन्त्रीत्रयको मर्यादाक्रमको विवाद समाधान गर्न नसक्दा प्रधानमन्त्री दाहालसँग कांग्रेस थप चिढिएको छ । सुरुमा निधी प्रधानमन्त्रीपछिको वरियताक्रममा रहेपनि पछि राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सरकारमा प्रवेश गराई कमल थापालाई दोस्रो वरियता दिएपछि उपप्रधानमन्त्रीको मर्यादाक्रममा विवाद देखिएको थियो । माओवादी नेता देव गुरुङले स्थानीय तहको निर्वाचन सम्पन्न गरेपछि सत्ता हस्तान्तरण गर्ने जनाउँदै सशंकित नहुन कांग्रेससँग आग्रह गरेका थिए तर व्यवहारले मात्रै थाहा हुने काँग्रेस नेताको भनाई छ ।
दाहालले कुनै हालतमा पनि सरकारको नेतृत्व नछाड्ने अभिब्यक्ति दिइरहनु्पछि उनलाई एमाले र राप्रपाले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको उनीनिकट नेताहरुले जनाएका छन् । राप्रपा अध्यक्ष थापालाई दोस्रो वरियता दिएर सरकारमा प्रवेश गराइसकेका दाहालले कांग्रेसले साथ छाडे एमालेले सहयोग गर्ने वचन दिएको दाहाल निकट नेताहरुले भिव्यक्ति दिन थालेका छन् ।
किन शसंकित बन्यो काँग्रेस ?
प्रधानमन्त्री दाहालले दुई चरणमा निर्वाचन गराउने प्रस्तावले कांग्रेस शसंकित बनेको छ । सरकारको आयु लम्ब्याउने दाहालको खेलले भस्केको काँग्रेस आर्थिक वर्ष २०७४र७५ को बजेट पनि दाहालको नेतृत्वमा घोषणा गर्ने उद्देश्य रहेको र असोजसम्म आफैंले सरकार चलाउने नयाँ प्रस्ताव अगाडि ल्याएको स्रोतले जानकारी दिएको छ ।
मधेसी मोर्चासँग सहमति नजुटेको कारण देखाउँदै दुई चरणमा चुनाव गर्ने प्रस्ताव दाहालले देउवासमक्ष पु¥याएपछि स्थानीय तहको संख्या थपिने र त्यहाँमात्रै दोस्रो चरणमा निर्वाचन गर्ने प्रस्तावले काँग्रेस शसंकित बनेको हो ।’ स्थानीय तहको निर्वाचन माओवादी नेतृत्वमा, संघ र प्रदेशको निर्वाचन कांग्रेसको नेतृत्वमा’ भन्ने सहमतिलाई आधार बनाएर प्रस्ताव अघि सारेपछि सहजै दाहालको चातुर्यतालई सजिलै बुझ्न सकिने देउवा निकट नेताले बताएका छन् ।