मस्जिद आसपासको आवतजावतमा पूर्ण प्रतिबन्ध

452
views

काठमाडौं, ७, बैशाख । एकै ठाउँमा धेरै मानिसमा कोरोना भाइरस संक्रमण देखिएपछि उदयपुरको त्रियुगा नगरपालिका वडा नं ३ का करिब ३ सय घर परिवारका सबै मानिसको परीक्षण गरिने भएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरका अनुसार त्यहाँस्थित एक मस्जिदमा बस्दै आएका ११ भारतीयसहित १२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि उक्त वडाका सबै मानिसहरूको परीक्षण गर्न लागिएको हो ।

त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीका अनुसार कोरोनाभाइरस संक्रमित बसेको उक्त मस्जिदमा बसेका अन्य र उनीहरूको सम्पर्कमा रहेका आसपासका बस्तीका करिब १५ सय मानिसको परीक्षण गर्नुपर्ने अवस्था रहेको छ ।

त्रियुगा नगरपालिकाको वडा नं १, २, ३, ६ र १२ मा कोरोना संक्रमितहरूको आवतजावत भएकोले परिक्षण गर्नुपरेको हो । प्रदेश नं १ को सामाजिक विकास मन्त्रालय विराटनगरले आवश्यकता अनुसार द्रुत तथा पीसीआर परीक्षणका लागि चिकित्सकसहितको टोली खटाइसकिएको जनाएको छ ।

बीबीसीका अनुसार स्थानीय प्रशासनले कोरोनाभाइरस सङ्क्रमित भेटिएको मस्जिदको आसपासका क्षेत्रमा मानिसको आवतजावतमा पूर्णरूपमा प्रतिबन्ध लगाएको जनाएको छ ।

मस्जिदमा भेटिएका संक्रमितहरूको अन्य मानिससँगको सम्पर्क र उनीहरूको आउजाउको विवरण समेत संकन गर्न थालिएको छ ।