कोरोना भाइरसबाट विदेशमा ७३ नेपालीको मृत्यु

838
views

काठमाडौं, २१, बैशाख । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण मृत्यु हुने गैरआवासीय नेपालीहरुको संख्या ७३ पुगेको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) संघ अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार बेलायतको ग्रेटर लण्डनमा २७, मिडल्याण्डमा ८, साउथ इष्टमा ११, साउथ बेष्टमा ३ गरी ४९ जनाको मृत्यु भएको छ ।

यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । जसमध्ये मध्य न्युयोर्कमा १२, कोलोराडोमा २ र भर्जिनियामा १ जनाको मृत्यु भएको हो । यस्तै, संयुक्त अरब इमिरेट्स् (युएइ) मा ५, आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १ र नेदरल्याण्डमा १ जनाको संक्रमणका कारण ज्यान गएको छ ।

नेपाल बाहेक विश्वभर ५ हजार २ सय ४७ जना गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् । संक्रमितमध्ये १५ सय ७० जना संक्रमण मुक्त भएको अनुमान समितिले गरेको छ ।