जलजला गाउँपालिका नाकामा स्वयंसेवक परिचालन

958
views

पर्वत, ५, जेष्ठ । जलजला गाउँकार्यपालिकाले कोरोना भाईरस अर्थात कोभिड–१९ को महामारीबाट आफ्ना नागरिकलाई सुरक्षित राख्न नाकामा स्वयंसेवक परिचालन गर्ने भएको छ । गाउँकार्यपालिकाको आइतबार बसेको बैठकले कोरोनाको उच्च जोखिमबाट सतर्क रहन गाउँपालिकाका ११ वटा नाकामा दुईजनाको दरले २२ जना स्वयंसेवक परिचालन गर्ने निर्णय गरेको अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण) ले जानकारी दिए ।

बैठकले देश तथा विदेशका जुनसुकै ठाउँबाट गाउँपालिकामा भित्रिने व्यक्तिहरूलाई क्वारेन्टाइनमा राख्ने, मोेहनचोक–माझफाँट–लेकफाँट सडक, मिलनचोक–लेकफाँट–शालिजा सडक, मिलनचोक–धाइरिङ सडक, लस्ती–धाइरिङ सडक, बनौ भित्रिने सडक, फर्से–नाङ्लीवाङ् सडक, खनियाघाट–नाङ्लीवाङ् सडक र दमुवाखोला–नाङ्लीवाङ् सडकका मूख्य नाकाहरूमा स्वयंसेवक परिचालन गर्ने निर्णय गरेको छ ।

यसरी परिचालन गरिएका स्वयंसेवकहरूलाई वडा कार्यालयबाट संचार र खानाखर्च वापत दिनको पाँचसयका दरले पारिश्रमिक दिने निर्णय समेत भएको अध्यक्ष मल्लले वताए ।

त्यसैगरी निर्णय कार्यान्वयन भएरनभएको निगरानी गर्न गाउँपालिका भित्रका कटुवाललाई परिचालन गर्ने र उनीहरूलाई प्रोत्साहन स्वरुप एकमहिनाको पाँचहजार रूपैयाँ सहयोग गर्ने निर्णय भएको अध्यक्ष मल्लले जानकारी दिए ।