उपत्यकामा खटिएका २ प्रहरीमा कोरोना पोजिटिभ

1108
views

काठमाडौं, ७, जेष्ठ । उपत्याका ड्युटीमा खटिएका दुईजना प्रहरीमा पहिलो पटक कोरोना पोजिटिभ देखिएको छ । नेपाल प्रहरीको सुरक्षाकर्मीलाई कोरोना भाइरस देखिएको हो । बुधबार महानगरीय प्रहरी वृत्त कालिमाटीमा कार्यरत २ जना प्रहरीलाई कोरोना देखिएको हो ।

२ दिनअघि कोरोना परीक्षणका लागि लिइएको स्वाबमा प्रहरी नायब निरीक्षक र प्रहरी जवानमा कोरोना पोजिटिभ देखिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डीआईजी विश्वराज पोखरेलले जानकारी दिए ।

‘२ जनामा कोरोना पोजिटिभ देखिएपछि अहिले कालिमाटी प्रहरी वृत्त सिल गरिएको छ । बाँकी प्रहरीको पनि आज कोरोना परीक्षण गर्छौँ,’ डीआईजी पोखरेलले भने ।

यसअघि बारा र कपिलवस्तुमा नेपाल प्रहरीका ३ जनामा कोरोना देखिएको थियो । बुधबार थप २ जनामा कोरोना पुष्टि भएसँगै संक्रमित हुने प्रहरीको संख्या ५ पुगेको छ । त्यस्तै, अहिलेसम्म नेपाली सेना र सशस्त्र प्रहरी गरी १२ जना सुरक्षाकर्मीमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।