नेरेसोद्वारा सुरक्षा सामग्री र उपकरण हस्तान्तरण

652
views

काठमाडौं, १६, असार । कोभिड–१९ को महामारीमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी र स्वयंसेवकहरूको सुरक्षा अभिवृद्धिको लागि विभिन्न अस्पतालहरूलाई सुरक्षा सामग्री र उपकरण हस्तान्तरण अभियान नेपाल रेडक्रस सोसाइटीले आजदेखि सुरू गरेको छ ।

हस्तान्तरण गरिने सामग्रीहरूको कूल मूल्य १ करोड ५७ लाख सात ७ सय ७० रहेको छ । काठमाडौँको शुक्रराज ट्रपिकल अस्पताललगायत देशका सातवटै प्रदेशका प्रमुख अस्पतालहरूमा उपकरणहरू र कार्यरत स्वास्थ्यकर्मीहरूको लागि व्यक्तिगत सुरक्षा सामग्रीहरू वितरण गरिने छ ।

नेपाल रेडक्रस र कोकाकोलाको साझेदारीमा सञ्चालन गरिएको सामग्री बितरण अभियान आज विहान स्वास्थ्य तथा जनसंख्या मन्त्रालय परिसरमा सुरूआत गरिएको हो । नेपाल रेडक्रसका अध्यक्ष संजीव थापाले पहिलो चरणको सामग्रीहरू माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गर्नुभयो ।

प्राप्त मास्क, रबर बुट, स्यानिटाइजर, साबुनलगायतका व्यक्तिगत सुरक्षा सामग्री मन्त्री ढकालले शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल टेकुका निर्देशक डा. सागरकुमार राजभण्डारीलाई सोही कार्यक्रममा हस्तान्तरण गर्नुभयो ।

दुई चरणमा हस्तान्तरण हुने सामग्रीहरूमा १५ हजार थान सर्जिकल मास्क, केएन–९५ माक्स १ हजार १ सय ५० थान, ५५० थान सुरक्षा पोशाक, सुरक्षा चस्मा ३०० वटा, बीस हजार जोडी पञ्जा, ४४० थान रबर बुट, स्यानिटाइजर २५०० बोटल, निर्मलीकरण केमिकल सोडियम हाइपोक्लोराइड दुई हजार दुई सय लिटर र १५ हजार एकसय अठार थान साबुन रहेको नेपाल रेडक्रस स्वास्थ्य विभागका निर्देशक बिपुल न्यौपानेले जानकारी दिनुभयो ।

यस्तै विभिन्न प्रदेशमा ७ थान भेन्टिलेटर मेशिन उपलव्ध गराउने पनि रेडक्रसले जनाएको छ । यस्तै सिंगापुर रेडक्रसको तर्फबाट प्राप्त ३५०० थान एन नाइन्टीफाइभ माक्स पनि आजै नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ ।