गोर्खाल्यान्ड राज्यप्राप्तिका निम्ति अनिश्चितकालीन बन्द

681
views

दार्जीलिङ, २, असार । बाङलाभाषाको बाध्यकारी अध्ययन व्यवस्था गरिएपछि नेपालीभाषी भारतीयको सघन बसोवास भएको दार्जीलिङसहित गोर्खाल्यान्ड क्षेत्रमा चर्किएको आन्दोलन अनिश्चितकालिन बन्दमा पुगेको छ । बंगाल प्रहरीले मोर्चाको कार्यालय र अध्यक्ष गुरुङको घरमा छापा मार्ने नाममा तोडफोड गरेपछि बन्द आह्वान गरिएको मोर्चाकी नेतृ निरा शर्माले जानकारी दिनुभयो । प्रहरीले गुरुङलाई गिरफ्तार गर्ने योजना बनाएको थियो । उहाँलाई नभेटेपछि गुरुङको घर पुगेको प्रहरीले घर र कार्यालयमा छापा मारी तोडफोड गरेको शर्माको भनाई छ ।
दार्जीलिङमा दिनभर सवारीसाधन नचलेको र विद्यालय, कलकारखाना, सरकारी कार्यालय समेत ठप्प भएका छन् । घटनापछि अध्यक्ष गुरुङले गोर्खाल्यान्डका लागि एक भएर अघि बढ्न सबै दललाई आह्वान गर्नुभएको छ । प्रहरीले दार्जीलिङमा सातजना र कालेबुङमा तीनजनालाई पक्राउ गरेको शर्माले जानकारी दिनुभयो । बंगाल सरकारको ज्यादती बढ्दै गएको भन्दै उहाँले नेपालीभाषी भारतीय संकटमा रहेकाले सहयोग गर्न सबैलाई आह्वान गर्नुभएको हो ।
यसअघि गोरखा जनमुक्ति मोर्चाले मंगलबार आह्वान गरेको सर्वदलीय बैठकमा सहभागी नेताहरूले गोर्खाल्यान्ड राज्यप्राप्तिका निम्ति एकजुट भएर लड्ने निर्णय गरेका थिए । बैठकमा गोर्खा जनमुक्तिमोर्चा, गोर्खा राष्ट्रिय मुक्तिमोर्चा, गोर्खाल्यान्ड राज्यनिर्माण मोर्चा, क्रान्तिकारी माक्र्सवादी कम्युनिस्ट पार्टी, भारतीय जनता पार्टी र गैरराजनीतिक संगठन भारतीय गोरखा परिसंघको उपस्थिति थियो । बैठकले जेठ २५ र ३० को प्रहरी दमनको समेत विरोध गरेको थियो । बाङलाभाषाको बाध्यकारी अध्ययनको व्यवस्थाले करिब एक सय वर्ष पुरानो नेपालीभाषा र जातिको मुक्तिआन्दोलनमा अतिक्रमण भएको भन्दै गोर्खा जनमुक्तिमोर्चाले आन्दोलन सुरु गरेको हो ।