नेपाली सेनाको ब्यारेकभित्रै जुवाअड्डा !

994
views

कावासोती । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्लामा जुवातास बिरुद्धको अभियान तीब्र बनाइरहेकाबेला जिल्लाकै सैनिक ब्यारेक भित्रै जुवा अड्डा रहेको खुलासा भएको छ ।

कावासोतीको हात्तीखोरस्थित वन तथा पर्यवरण सुरक्षा गण अन्तर्गतको राष्ट्रिय सेवा दल (एनसीसी) ब्यारेकभित्रै जुवा अड्डा रहेको खुलासा भएको छ ।

दशैं, तिहार तथा छठ पर्वको पूर्वसन्ध्यामा जिल्ला प्रहरी कार्यालयले सुरक्षा अभियान तीब्र पारिरहेका बेला सेनाकै ब्यारेकभित्र जुवा अड्डा फेला परेपछि ब्यारेकभित्रै छानबिन थालिएको एक सैनिक अधिकारीले बताए ।

केही दिनयता प्रहरीले जुवा खेलिरहेका सर्वसाधारणलाई जिल्लाको विभिन्न ठाउँबाट पक्राउ गरी कारबाही चलाएको छ ।

जिल्लाको मध्यबिन्दु नगरपालिका २ कोल्हुवास्थित एक होटलबाट जुवाखालबाटै चार जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

सैनिक ब्यारेकभित्र जुवा खेल्ने अड्डा रहेको गुनासो प्रहरी कार्यालयमा पुगेपछि जिल्ला प्रशासन मार्फत सैनिक ब्यारेकका प्रमुख सेनानी कर्णेल शारदाभक्त माटाङगुलुङ्लाई जानकारी गराएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लले बताए ।

जिल्लाको सदरमुकाम कावासोतीका विभन्न होटल तथा घरहरुमा नियमित जुवा खेलाउने अड्डा रहेको सूचना पाएपछि प्रहरीले खोजबिन थालेको हो । प्रहरी अभियान चलिरहँदा सैनिक ब्यारेकभित्रै जुवा खेलाउन अड्डा बनाएको भेटिएपछि सैनिक ब्यारेक भित्र मात्र होइन, प्रहरी कार्यालयमा तरंग फैलिएको छ ।