गण्डकी प्रदेशका कांग्रेस सांसदद्वारा दशैं भत्ता फिर्ता

583
views

बिषन क्षेत्री
पोखरा, ४, कार्तिक । गण्डकी प्रदेशसभाका १५ जना कांग्रेस सांसदहरुले चाडपर्व खर्च फिर्ता गरेका छन । प्रदेशसभा सदस्यहरुको सेवा सुविधाको सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन अनुसार एक महिनाको पारिश्रमिक बराबरको चाडपर्व खर्च पाउने व्यवस्था छ ।

तर, कोरोना महामारीमा पनि सांसदहरुले दशैँभत्ता लिएको भन्दै चौतर्फी आलोचना भइरहेको छ । संघदेखि प्रदेश सरकारका मन्त्रीहरुले पनि खातामा लिएको भत्ता फिर्ता गरेका छन । तर, सबै प्रदेश सांसद र मन्त्रीहरुले भने फिर्ता गरेका छैनन ।

यता, प्रदेशसभा सचिवालयले पनि सबै सांसदहरुको खातामा चाडपर्व खर्च पठाइसकेको जनाएको छ । प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने मंगलबार संसदीय दलको बैठक नै गरेर चाडपर्व खर्च नलिने निर्णय गरेको छ ।

“खातामा आइसकेको छ, तर हामीले उक्त रकम सरकारलाई नै फिर्ता गर्छौँ, आज दलको बैठकले निर्णय गरेको छ ।” कांग्रेस संसदीय दलका प्रमुख सचेतक मणिभद्र शर्मा कँडेलले जानकारी दिए ।

६० सांसदमध्ये गण्डकीमा १५ जना कांग्रेसबाट निर्वाचित छन । प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले पाउने ५८ हजार रुपैयाँ, प्रमुख सचेतक तथा संसदीय समितिको सभापतिको हैसियतले दुइजनाले पाउनने ५६ हजार आठ सय ४०, सचेतकले पाउने ५४ हजार दुइ सय र बाँकी ११ जना सांसदले पाउने ५२ हजार रुपैयाँ सहित कुल आठ लाख ८० रुपैयाँ चाडपर्व खर्च फिर्ता गर्ने निर्णय बैठकले गरेको हो ।

सत्तारुढ नेकपा, प्रतिपक्षी राष्ट्रिय जनमोर्चा र जनता समाजवादीका सांसदले भने रकम फिर्ता गर्ने नगर्ने निर्णय गरेका छैनन ।