प्रधानमन्त्री बन्ने दाउमा माधव नेपालको सक्रियता

414
views

काठमाडौं, ५, कात्तिक । कोटेश्वरमा खुम्चिएर बसेका माधवकुमार नेपालको आश्चर्यजनक रुपमा सक्रियता बढेको छ । नेपालले राजनीतिक भेटघाटलाई समेत तिव्र पारेका छन् ।

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नेपालको दिनहुँजसो भेटवार्ता हुन थालेको छ । उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग असन्तुष्ट नेताहरुसँग समेत छलफल अगाडि बढाएका छन् ।

नेपालले खुमलटार पुगी प्रचण्डसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग मङ्गलबार बालुवाटार पुगेर भेटवार्ता गरेको भोलिपल्टै उनले प्रचण्डसँग छलफल गर्नुलाई अर्थपूर्ण मानिएको छ । प्रचण्ड र नेपाल पछिल्लो समय निकै नजिक छन् ।

माधव नेपालको पछिल्लो प्रतिक्रिया ओलीविरुद्ध आक्रामक बन्दै गएको छ । प्रचण्ड र नेपालबीच ओलीको सत्ता ढाल्ने नयाँ डिजाइन बनेको विषय पनि बाहिर आइसकेका छन् ।

यो डिजाइनमा नेकपाका वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि रहेको चर्चा छ । नेकपाभित्र ओलीमाथि चुनौती थपिएपछि नेताहरुको सक्रियता बढेको छ । नेपालको सक्रियतालाई प्रधानमन्त्री बन्ने दाउको सक्रियता समेत बुझिएको छ ।