राष्ट्रिय सभाका अध्यक्ष र कोरियाली राजदूतबीच भेटवार्ता

493
views

काठमाडौ, ५, असोज । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपालका लागि दक्षिण कोरियाका राजदूत महामहिम पार्क छोङ–सुकबीच शिष्टचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा बुधवार भएको भेटमा दुई देशको सम्बन्ध, साझेदारी, सहकार्य लगायतका विषयमा कुराकानी भएको थियो ।

भेटमा, अध्यक्ष तिमिल्सिनाले नवनियुक्त राजदूत छोङ–सुकलाई नेपालका लागि राजदूतमा नियुक्त हुनु भएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।

भेटमा अध्यक्ष तिमिल्सिनाले ’नेपाल र दक्षीण कोरियाबीच लामो समयदेखि सामाजिक, सांस्कृतिक, धार्मिक, आर्थिक तथा जनस्तरको सम्बन्ध सुमधुर रहँदै आएको स्मरण गर्नुभयो ।,

दक्षिण कोरियाली राष्ट्रपतिको नेपाल भ्रमणलाई स्मरण गर्दै उहाँले नेपाल र दक्षीण कोरियाका बीचको बहुआयामिक सम्बन्धलाई थप सुदृढ तुल्याउन दुई देशबीच हुने उच्च स्तरीय भ्रमणले थप सहयोग पु¥याउने र गौतम बुद्धको जन्मस्थान नेपाल र बौद्ध धर्मालम्बीहरुको बाहुल्यता रहेको दक्षीण कोरियाबीचको हवाई उडानमा दुवै देशका ध्वजावाहाक जहाजहरु उडाउनुपर्नेमा जोड दिनुभयो ।

भेटमा उहाँले कोरियाली नागरिकलाई नेपालको कृषि, पर्यटन तथा उर्जा क्षेत्रमा लगानी गर्नका लागि आह्वान गर्दै यसमा महामहिमको ठूलो भुमिका रहनेछ भन्ने कुरा व्यक्त गर्नु भयो ।

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा फैलिरहेको र नियन्त्रणको प्रयत्न नेपाल सरकारले गरिरहेको अवस्थामा कोरियन सरकारबाट समेत सहयोग प्राप्त भएकोमा नेपाली जनता र संघीय संसदको तर्फबाट धन्यवाद ज्ञापन गर्दै छिटै नै यो महामारी रोकिने आशा व्यक्त गर्नुभयो ।

भेटमा राजदूत छोङ–सुकले नेपाल र दक्षिण कोरियाको सम्बन्ध सरकार, संसद र जनस्तरमा उच्च रहेको बताउनुभयो । उहाँले संयुक्त राष्ट्र संघ, डब्लु.टि.ओ.जस्ता अन्तराष्ट्रिय फोरमहरुमा दुई देशबीच साझा बिचार तथा सहकार्य हुदै आइरहेको धाराण व्यक्त गर्नुभयो ।

ई. पि. एस. मार्फत कोरिया गई सीप सिकेर फर्केका नेपालीहरुलाई नेपालमा पनि उस्तै काम गर्ने वातावरण मिलाउन आफूहरुले सक्दो प्रयास गर्ने राजदुतको भनाई थियो ।

राजदूत छोङ–सुकले लुम्बनीका साथै नेपालका प्राकृतिक सुन्दर स्थानहरुको भ्रमण गर्न दक्षिण कोरियन नागरिकहरुलाई उत्प्रेरित गर्ने कार्यमा लाग्ने कुरामा जोड दिनुभयो ।

नेपालमा बढिरहेको कोभिड–१९ नियन्त्रणमा कोरियन सरकारबाट सक्दो सहयोग गर्ने तथा दुई देशको व्यापार घाटा सन्तुलनमा राख्न सहयोग गर्ने बताउनुभयो ।