प्रसापको साहित्यिक जागरण अभियान

700
views

ईश्वरीप्रसाद गैरे
कोइलाबास, १७, कात्तिक । प्रगतिशील साहित्य परिवार तुलसीपुर दाङको आयोजनामा दाङको सिमानाका कोइलाबासमा साहित्यिक गोष्ठी सम्पन्न भएको छ । कुनै समयमा राप्तीकै प्रबेशद्वार र सबैभन्दा ठूलो बजार रहेको कोइलाबासमा उक्त परिवारले कविता गोष्ठी सम्पन्न गरेको हो ।

दाङको सबैभन्दा अग्लो र जिल्लाको उत्तरी सिमाना थर्कोटबाट सुरु गरेको ‘साहित्यिक जागरण अभियान’ हिजो शनिबार जिल्लाको दक्षिणी सिमाना कोइलाबासमा सम्पन्न गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै हिरामणि दुःखीले भन्नुभयो– ‘राप्तीको पुरानो बजार र एक समय देशकै चौथो ठूलो राजस्व सङ्कलन हुने भन्सार अड्डा भएको कोइलाबास यतिखेर खण्डहरमा परिणत हुनुमा नेपालको राज्यव्यवस्था जिम्मेवार रहेको बताउँदै अहिले बनेको दुईलेनको पिचबाटो कमसेकम तीस÷चालिस बर्स अगाडि सम्पन्न भएको भए आज कोइलाबास खण्डहर र जङ्गलमा परिणत हुने थिएन ।’

दुःखीले कोइलाबासको महत्व दर्साउँदै ‘भारतको दशगाजा क्षेत्रमा रहेको कोइलाबासले एकातिर देशका लागि राजस्व सङ्कलन गर्ने भूमिका खेलेको थियो भने अर्कातर्फ सिमा सुरक्षाकवजको भूमिका पनि खेलेको’ बताउनु भयो । आफ्नो मन्तव्यका क्रममा दुःखीले अगाडि भन्नुभयो ‘पञ्चायतकालदेखि राज्यको कोपभाजनमा परेर सेलाएको कोइलाबासलाई पुनर्जागृत गर्ने काम बहुदलको आगमनदेखि हालसम्मका कुनै पनि सरकारले नगर्दा आज करिब मानब बस्तीहिन जस्तै बन्न पुगेको छ ।’

इच्छुक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष समेत् रहेका दुःखीले इच्छुकको सन्दर्भ जोड्दै अगाडि भन्नुभयो– ‘इच्छुकले यही कोइलाबासमा रहेको साल्ट ट्रेडिङमा जागिरे जीबन बिताउँदा यहाँबाट कम्युनिस्ट पार्टी निर्माणको अभियान सञ्चालन गर्नु भएको थियो । उहँले साहित्यको आरम्भ यहीँबाट गरेको र त्यतिबेला दाङबाट प्रकाशित हुने साप्ताहिक पत्रिका युगचेतनामा प्रकाशित इच्छुकका कविता पढेर धेरै युवा कम्युनिस्ट आन्दोलनमा आकर्षित भएका थिए ।’ आफ्नो सङ्क्षिप्त मन्तव्य पछि दुःखीले इच्छुकको सम्झनामा उहाँकै कविता ‘इतिहासको यस घडिमा’ शीर्षकमा रचना गरेको आफ्नो कविता सुनाउनु भएको थियो ।

कार्यक्रलाई प्रलेस दाङका पूर्व अध्यक्ष कवि रामप्रसाद जैसीले बिगतमा कोइलाबास हरेक दृष्टिकोणले हराभरा रहेकोमा अहिले खण्डहरमा परिणत भएको देख्दा निकै पीडा भएको बताउँदै यस बजारमा घोडा, राँगा र डोकाबाट ब्यापार गर्न आउने र भारतमा ज्याला मज्दूरी गर्न गएका तथा पल्टनी लाहुरेहरूको आवतजावत बाक्लो हुने भएकाले कोइलाबासको रमझम र चहलपहल निकै रहेको बताउनु भयो ।

त्यसैगरी अर्का वक्ता पत्रकार निमबहादुर थापाले नेपालका पुराना नाकाहरूमा चौथो नाका भनेर चिनिने काइलाबास पहिला २४सै घण्टा झलमल्ल रहेको आफैले देखेकामा अहिले सुनसान रहेको बताउनु भयो । उहाँले यहाँ भन्सार, सटही काउन्टर, साल्ट ट्रेडिङ, प्रहरी चौकी, विद्यालय, विद्युत अफिस, खाद्यगोदाम, स्वास्थ्यचौकी जस्ता थुप्रै सरकारी कार्यालयहरू रहेको तथा निकासी र पैठारीका निम्ति राप्तीकै सबैभन्दा ठूलो ब्यापारिक केन्द्र रहेको चर्चा गर्नु भयो ।

उक्त कार्यक्रममा कविहरू रामप्रसाद जैसी, प्रमोद धिताल, खगेश्वर भण्डारी, छविलाल कोपिला, टीका बस्नेत, दीपक समिर, गुरूप्रसाद कुमाल ‘बुलबुल’, यम रेग्मी, सुदृष्टि लक्ष्मी, राधिका परियार, रमा नेपाली, इश्वरी गैरे र मनोज थापाले कविता बाचन गरेका थिए । कविहरूले आफ्ना कविताहरूमा कोइलाबासको चर्चा, राष्ट्रिय स्वाधीनता, वर्तमान सरकारको आलोचना, सिमा सुरक्षा जस्ता विषयहरू समेटेका थिए ।
संस्थाका अध्यक्ष खगेश्वर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सहसचिव दूर्गा विकले गर्नु भएको थियो ।