गुल्मीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

559
views

काठमाडौं, १२ मंसिर । गुल्मीमा जीप दुर्घटना भएको छ । दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । इस्मा गाउँपालिकामा विहान भएको दुर्घटनामा पाँचजनाको घटनास्थलमा र एकजनाको उपचारका क्रममा मृत्यु भएको हो ।

इस्मा गाउँपालिकाको हुलबाट तम्घासतर्फ जाँदै गरेको लु १ ज ११६६ नम्बरको जीप सडकबाट खसेको थियो । जिपमा चालक र सहयोगीसहित नौ जना थिए । घुम्तीमा मोड्दा जीप खसेको थियो । घटनामा चालक बुद्ध बस्नेत र सहयोगी कमाल हितान भने सकुशल छन् ।

दुर्घटनामा इस्माका ६५ वर्षीय डम्बर हितान, १९ वर्षीय पर्शुराम थापा,३३ वर्षिय शिव दर्लामी, ३० वर्षीय वसन्त दर्लामी, ३३ वर्षीय धनबहादुर अछामी, मालिका गाउँपालिकाकी ८० वर्षीया सुन्दरी थापाको मृत्यु भएको छ भने सरस्वती दर्लामी फर्सु थापा र गम्भिर घाईते छन् ।