सिद्धबाबाको चरित्र हत्या गर्नेलाई कारवाहीको माग

570
views

काठमाडौं, २३, मंसिर । पूज्य सन्त रामकृष्णाचार्य श्री वैष्णव कृष्ण दास (सिद्धबाबा) लाई सुनसरी जिल्ला अदालतले सफाई दिएको छ । गलत मनसाय राखी पूज्य सन्तमाथि जबरजस्ती करणी जस्ता गम्भिर आरोप लगाउनु निन्दनीय एवं दण्डनीय भएको भन्दै विश्व हिन्दु पर्षिद नेपालले आपत्ति जनाएको छ ।

हिन्दू साधुसन्तहरुमाथि श्रृंखलाबद्ध रुपमा आक्रमण हुदै आएको अवस्थामा प्रशासनले कुनै एक फर्जी उजुरीको आधारमा कारवाही थाल्नु प्रशासन माथि नै प्रश्न चिन्ह खडा भएको एक वक्तव्यमा उल्लेख गरिएको छ ।

हिन्दू आस्था एवं साधुसन्तको मर्यादाको ख्याल नै नगरी, उजुरीकर्ताको सत्यता परिक्षण नै नगरीकन प्रशासनले पूज्य सन्त विरुद्ध कारवाही गर्नु शंकाष्पद रहेको पनि उल्लेख गरिएको छ ।

वक्तव्यमा थप भनिएको छ सम्मानित अदालतले ‘जबरजस्ती करणीको कसुरमा सजाय हुनुपर्ने भन्ने अभियोग दाबी पुग्न नसक्ने हुँदा प्रतिवादी सिद्धबाबाले आरोपित कसुरबाट सफाई पाउने ठहर्छ ।’ भनि सफाई दिएको छ ।’

प्रशासनको लापरवाही एवं अकर्मन्यताका कारण पूज्य सन्तले विभिन्न किसिमको दुःख, कष्टको सामना गर्नु परेको भन्दै बहुसंख्यक हिन्दूहरुको देशमा साधुसन्तमाथि भएको षडयन्त्र एवं दुव्र्यवहार चिन्ताजनक विषय रहेको विश्व हिन्दु पर्षिद नेपालका महासचिव जितेन्द्र कुमार सिंहद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ ।

उक्त वक्तव्यमा प्रशासनबाट गरिएको कृत्यको विश्व हिन्दू परिषद नेपाल कडा शब्दमा निन्दा गर्दछ, साथै हिन्दू आस्था एवं पूज्य सन्त रामकृष्णाचार्य श्री वैष्णव कृष्ण दास (सिद्धबाबा) को चरित्र हत्या गर्नेलाई कडा कारवाहीको माग गर्दछौं भनिएको छ ।