पाँच लाख रुपैयाँ पीडितलाई दिएर बलात्कारमा मिलापत्र गराउने ६ जना पक्राउ

384
views

विराटनगर । जबरजस्ती करणी मुद्दा पाँच लाख रुपैयाँमा मिलापत्र गराएको आरोपमा मोरङमा ६ जना पक्राउ परेका छन्।

मोरङको धनपालथानमा पीडकका आफन्त एवं सामाजिक अगुवाको सलग्नतामा बलात्कार जस्तो जघन्य अपराधको घटना गाउँमै मिलाउन पीडितलाई पाँच लाख रुपैयाँ दिएको घटना बाहिरिएको हो।

घटना बाहिरिएसँगै पीडक र मिलापत्र गराउन संलग्नलाई मोरङ प्रहरीले पक्राउ गरेको छ। बलात्कारपछि अपराधको घटना मिलाउन छलफलमा बसेका ६ जनालाई प्रहरीले पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय रंगेलीको प्रहरी टोलीले बलात्कारको घटना मिलापत्र गराएको आरोपमा धनपालथान गाउँपालिका ५ का ६५ वर्षे धनेशु खवास, ५३ वर्षे सुधार सिंह खवास, ६२ वर्षे मागन खवास, ६२ वर्षे कलकनु खवास, रंगेली नगरपालिका १ का ६७ वर्षे जगतनारायण खवास र बेलबारी नगरपालिका ८ का ५३ वर्षे मथालु खवासलाई पक्राउ गरेको छ।

गएको भदौ २४ गते सुनवर्षीकी २१ वर्षे किशोरीलाई खेतमा मल छर्दै गर्दा बेलबारी नगरपालिका ८ का ३२ वर्षे सुरेशकुमार खवासले जबरजस्ती करणी गरेको घटना बाहिरिएपछि जबरजस्ती मिलापत्र गराइएको थियो।

गाउँघरमै दुवै पक्षका मानिसहरू बसेर पीडित पक्षलाई ५ लाख दिने सहमति गरेको कागज प्रहरीले फेला पारेपछि मिलापत्र गराउने कार्यमा उनीहरु संलग्न देखिएपछि ६ जना पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए।

जबरजस्तीकरणी गरेको आरोपमा मुख्य अभियुक्त सुरेशकुमार खवास यसअघि नै पक्राउ परिसकेका छन्। पीडित किशोरी खवासले जवरजस्ती करणी गरेको घटना भएको एकमहिना पछि प्रहरीमा उजुरी दिइएकी थिइन्। महिलाको उजुरीपछि पीडक खवास फरार भएका थिए। प्रहरीले खवासलाई मंसिर १९ गते रंगेली नगरपालिका ७ बाट पक्राउ गरेको थियो।

थप अनुसन्धानका क्रममा घटना मिलापत्र गराएको खुलेको थियो। त्यसको कागजसमेत भेटिएपछि प्रहरीले मिलापत्र गराउने कार्यमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरेको हो।

मिलापत्र गराउने कार्यमा अरू केही व्यक्तिहरुको पनि संलग्नता देखिएको र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।