प्रजनन केन्द्रमा हुर्काइएका गोही राप्तीमा छोडियो

347
views

चितवन, ३०, मङ्सिर । चितवन राष्ट्रिय निकुञ्जको प्रजनन केन्द्रमा हुर्काइएका गोहीलाई राप्ती नदीमा छाडिएको छ । सोमवार राप्ती नदीमा १० वटा गोही छोडिएको निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काले जानकारी दिए । यस आर्थिक वर्षमा १०० गोही नदीमा छाड्ने लक्ष्य थियो खड्काले भने ‘सबै गोही राप्तीमा छोडिँदै छ । गत वर्ष ५० गोही नदीमा छाडिएको थियो ।’

राप्ती र नारायणी नदीमा गोहीले पारेका अण्डा सङ्कलन गरेर प्रजनन केन्द्रमा लग्ने गरिन्छ । ती अण्डा र प्रजनन केन्द्रका गोहीले पारेका अण्डा कोरलेर बच्चा हुर्काउने गरिन्छ । पाँच वर्षपछि ती बच्चा नदीमा छोडिँदै आएको छ । हाल छोडिएका गोही छ वर्ष उमेरका हुन् ।

सन् १९७८ मा केन्द्र स्थापना भएपछि गोहीको बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छाड्न थालिएको हो । प्रजनन केन्द्रमा हुर्किएका योसहित एक हजार ५२५ गोही विभिन्न नदीमा छोडिएका छन् । सबैभन्दा बढी ८४५ गोही राप्तीमा छाडिसकिएको छ । नारायणीमा ३९९, कालिगण्डकीमा ३५, सप्तकोशीमा ९५, कर्णालीमा ४१ र बबईमा ११० गोही छाडिसकिएको छ ।

पछिल्लो गणनाअनुसार राप्तीमा ११८ र नारायणीमा १०१ गोही रहेका छन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले यहाँ हुर्काएर नदीमा छोडिएका गोही भारततर्फ जाने गरेका कारण नेपालका नदीमा सङ्ख्या बढ्न सकेको छैन । त्रिवेणीमा रहेको गण्डक ब्यारेजबाट भारततर्फ गएका गोही फर्किएर आउन कठिन हुने हुँदा पनि समस्या हुने गरेको छ ।