नेपाल र बङ्गलादेशबीच (जीटुजी) मार्फत मल खरिदका लागि सम्झौता

431
views

काठमाडौं । पैँचो ल्याउने मौखिक सहमति गरेको ४ महिना पछि नेपालले बङ्गलादेशबाट ५० हजार टन युरिया मल ल्याउन खरिद सम्झौता भएको छ ।

नेपाल र बङ्गलादेशबीच (जीटुजी) मार्फत मल खरिदका लागि सम्झौता भएको हो ।

 

 

फाईल फोटो

बिहीबार दिउँसो कृषि सामग्री कम्पनी लिमिटेड र बंगलादेश केमिकल इन्डस्ट्रिज कर्पोरेसन (सिसिआइसी)बीच मल खरिद–बिक्रीसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झौताअनुसार तीन महिनाभित्र बंगलादेशले नेपालमा युरिया निर्यात गरिसक्नुपर्नेछ । चार महिनाअघिबाट बंगलादेशी मल ल्याउन विभिन्न तहमा छलफल भए पनि बिहीबार सम्झौतापत्रमा औपचारिक हस्ताक्षर भएको हो ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा. योगेन्द्रकुमार कार्कीले बंगलादेशबाट चाँडै मल ल्याएर किसानहरूलाई वितरण थाल्ने जानकारी दिए । ‘हामीले यसअघि विभिन्न चरणमा गरेको छलफलपछि बंगलादेशबाट ५० हजार टन युरिया ल्याउन सम्झौता गरेका छौँ,’ उनले भने, ‘अब चाँडै मल ल्याएर किसानलाई उपलब्ध गराउनेतर्फ हाम्रो ध्यान हुनेछ ।’

मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीका अनुसार बल्क र कार्गो दुई विधिबाट मल आयात गरिनेछ । ‘बंगलादेशबाट मल आएपछि किसानहरूलाई सहजै उपलब्ध गराउने हाम्रो नीतिमा थप बल पुग्नेछ । यो सिजनमा खेती गरिने बालीलाई आवश्यक पर्ने युरिया, डिएपी र पोटास मल प्रशस्त मात्रामा रहेको सन्दर्भमा आगामी दिनमा मलको अभाव हुन नदिन मन्त्रालयबाट अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रणनीतिहरूसमेत तयार भइरहेका छन्,’ प्रवक्ता केसीले भने ।

बंगलोदशले आफैँ उत्पादन गरेको मल नेपाललाई दिन लागेको हो । बंगलादेशको मलको दाना ठूलो र गुणस्तरीय हुने भएकाले नेपाली किसानले लाभ उठाउने मन्त्रालयको भनाइ छ । बंगलादेशबाट सुरुका दिनमा पैँचोमा ल्याउने योजना बनाए पनि अहिले खरिद गरेरै ल्याउन लागिएको हो ।

बंगलादेशबाट खरिद गरेको मल ढुवानी गर्न यसअघि नै ग्लोबल टेन्डरबाट जेनट्रेड कम्पनी छनोट भइसकेको छ । सोही कम्पनीले बंगलादेशबाट मल ढुवानी गरेर कृषि सामग्री कम्पनीको विराटनगर, वीरगन्ज र भैरहवा गोदामसम्म ल्याइदिनेछ ।