संसद विघटनको रिट : संवैधानिक इजलासमा पठाउने सर्वोच्चको निर्णय

424
views

काठमाडौं, ८ पुस । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गर्दै सबै रिटलाई संवैधानिक इजलासमा पठाउने आदेश दिएको छ । संसद विघटनविरुद्ध परेको १२ वटा रिटको बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासमा सुनुवाई भएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्न गरेको सिफारिस र राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको स्वीकृति असंवैधानिक भन्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सांसदहरु देव गुरुङ, कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्रीसमेत सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

बुधबार कञ्चनकृष्ण न्यौपाने, समृत खरेलसमेत, लोकेन्द्र केसीसमेत, ज्ञानेन्द्रराज आरणसमेत, शालिकराम सापकोटासमेत, कमलबहादुर खत्री, मनिराम उपाध्याय, दिनेश त्रिपाठी, अनिता गौतम पौडेलसमेत, दीपक राईसमेत, तुलसी शिंखडाले पनि रिट दायर गरेका थिए ।

बुधबार संसद विघटनसम्बन्धी रिटमाथिको सुनुवाईमा कानुन व्यवसायी र संवैधानिक कानुनका जानकारहरुले प्रधानमन्त्री र राष्ट्रपतिलाई संसद विघटन गर्ने अधिकार संविधानले नदिएको असंवैधानिक कदम भएको जिकिर गरेका थिए ।

बहसमा भाग लिने शम्भु थापा, हरिहर दाहाल, कृष्णप्रसाद भण्डारी, गोविन्द बन्दी लगायतले प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार नभएको भन्दै अन्तरिम आदेश माग गरेका थिए ।