खत्रीलाई आपराधिक उपद्रव मुद्दामा ८ दिन म्याद थप

2345
views

पर्वत, ९, पुस । अन्यायमा परेको भन्दै माालापोत कार्यालय तोडफोड गर्ने पर्वत जलजला गाउँपालिका–३ साविक माझफाँटका ३० बर्षिय सुमन बहादुर खत्रीलाइ थप अनुसन्धानका लागि आठ दिन म्याद थप गरिएको छ ।

खत्रीलाई जिल्ला अदालत पर्वतबाट अपराधिक उपद्रव मुद्दामा पहिलोपटक पाँचदिन र दोस्रोपटक ३ दिन गरी आठदिन म्याद थप गरिएको छ । उनलाई मुलुकी ऐन आपराधिक उपद्रव दफा २८५ को उपदफा १ (ग) अनुसार चारबर्षको कैद सजाय र ४० हजार जरिवाना हुने मुद्दामा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक मनिस श्रेष्ठले जानकारी दिए ।

खत्रीले मंसिर १४ गतेदेखि पौष २ सम्मपनि मालपोत कार्यालय धाउँदासमेत काम नगरेको भन्दै ढिलासुस्ती लगायतका अन्यायपूर्ण गतिविधिका कारण तोडफोड गर्न वाध्य भएको बताएका छन् ।

यता जलजला गाउँपालिका–वडा नं ३ का अध्यक्ष रवि भण्डारीले मालपोत कार्यालय र त्यस कार्यालयका कर्मचारीले गरेको अन्यायपूर्ण गतिविधि र ढिलासुस्तिका कारण एउटा सर्वसाधारणले तोडफोड गर्न वाध्य भएकोले त्यसउपर उत्पन्न हुने परिस्थितिको प्रशासनले जिम्मेवारी लिनुपर्ने बताए ।

भण्डारीले घटनाका विषयमा सम्बन्धित कार्यालयका प्रमुखहरुसँग जानकारी गराइएको र ढिलासुस्ति र अन्यायपूर्ण गतिविधिका विरुद्ध उत्रिएका खत्रीमाथि कुनैपनि मुद्दा नलगाई रिहाई गर्नुपर्ने भन्दै कार्वाही गर्ने प्रक्रियामा गए आन्दोलन गर्ने चेतावनी दिए ।

खत्रीले श्रेष्ता संसोधनको निवेदन र अंश बुझेको भर्पाइको लिखत पेशको काममा कहिले यो पुगेन, कहिले त्यो पुगेन भन्दै लामो समय लगाएको र काम नहुने भएपछि आँफुले पेश गरेको कागजात दिनुहोस् भनि माग्दा नदिएपछि तोडफोड गरेको बताएका छन् ।

मंसिर १४ गतेदेखि काम शुरु गरेको बताएका खत्रीले भू–सेवा केन्द्रका लेखापढी व्यवसायि मोहन शर्मा पौडेलसँग २०७७ साल मंसिर २३ गते पहिलो सम्झौता गरेका छन् । तत्पश्चात २५ गते गाउँपालिकाको वडा कार्यालयबाट सिफारिस लिई आएपछि भर्पाइ पेश गरेको पौडेलको भनाई छ ।

पौडेलले २३ गतेबाट प्रक्रिया थालेको भएपनि कार्यालयको सबै कागजी प्रक्रिया मिलाएपछि २०७७ साल पौष २ गते सवमिशन नं १७२४३४ मा सवमिशन गरेपछि उनको काम शुरु भएको देखिन्छ ।