मालपोतको ढिलासुस्ति र अन्यायपूर्ण गतिविधिप्रति नागरिक अगुवाको ध्यानाकर्षण

972
views

पर्वत, ९, पुस । मालपोत कार्यालय पर्वतले ढिलासुस्ति र अन्यायपूर्ण गतिविधि गरेका कारण सेवाग्राही तोडफोडमा उत्रिन वाध्य भएको भन्दै पर्वतका नागरिक अगुवाहरुले जिल्ला प्रशासन कार्यालय पर्वतको ध्यानाकर्षण गराएका छन् ।

नागरिक अगुवाहरुले विहिबार प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीको कार्यकक्षमा पुगि पर्वत जलजला–३ का सुमन खत्रीले मंसिर १४ गतेबाट प्रक्रिया थालनी गरी २३ गतेबाट मालपोत धाउँदा समेत पौष २ गतेपनि काम नगरी तोडफोड गर्न वाध्य पारिएको भन्दै ध्यानाकर्षण गराएका हुन् ।

नागरिक अगुवाहरु अधिवक्ता यज्ञबहादुर थापा, उपभोक्ता मञ्च नेपाल पर्वतका अध्यक्ष सुर्य प्रकाश पौडेल, मञ्चका सचिव एवं अग्रज पत्रकार भवानी प्रसाद शर्मा, राजनीतिकर्मी नेता प्रकाश पौडेल, दलित संघ पर्वतका अध्यक्ष याम परियार (शिव) लगायतका नागरिक अगुवाहरु र जिल्लामा क्रियाशिल सञ्चारकर्मीले मालपोतमा भएको घटनामा सेवाग्राही भन्दापनि लेखन्दासदेखि कर्मचारीसम्मको ढिलासुस्ति र अन्यायपूर्ण गतिविधिका कारण सिर्जित हुनुपुगेको जानकारी गराए ।

मालपोतमा भएको घटनालाई तोडफोसँग जोडेर कानूनी दफा लगाउनु भन्दापनि के कति कारणले सेवाग्राही आवेगमा आएर तोडफोडमा लाग्यो भन्ने कुराको छानविन गरि आवेगमा आउन वाध्य पार्नेलाई समेत कार्वाही गर्न अगुवाहरुले जोड दिएका थिए ।

दक्षिण र उत्तरका सेवाग्राही मालपोतमा आउँदा निरास हुनुपर्ने कारणसँगै मालपोत कार्यालयमा भएको घटनाको प्रकाशित प्रशारीत सिसी टिभि फुटेजको भिडियोमा सामाजिक सञ्जालमा शतप्रतिशत नागरिकले मालपोतप्रति व्यक्त गरेको आवेग हेर्दा देशकै मालपोत कार्यालयमा सेवाग्राहीको विश्वास गुमेको भन्दै त्यसप्रति सचेत हुन जरुरी रहेको बताए ।

नागरिक अगुवाहरुको आवाजलाई सम्बोधन गर्दै जिल्ला प्रशासन कार्यालय पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले अनुसन्धानको तहमा रहेको उक्त घटनाको विषयमा कानूनी तरिकाबाटै हुने र मालपोतमा भएको घटनाको बारेमा सम्बन्धित कार्यालय प्रमुखसँग स्पष्टिकरण मागेको र सुधार गर्न निर्देशन दिएको बताए ।

रेग्मीले उक्त घटना अनुसन्धानमा रहेका काण अनुसन्धानमा प्रभावित नपरि जे हो त्यहि, सही अनुसन्धान गर्न सुझाव दिएको जानकारी दिए ।

जिल्ला मालपोत कार्यालय पर्वतमा पुस २ गते जलजला गाउँपालिका–३ साविक माझफाँटका ३० बर्षिय सुमन बहादुर खत्रीले ढिलासुस्ति र अन्यायपूर्ण गतिविधि गरेको भन्दै तोडफोड गर्न वाध्य भएको बताएका थिए ।

खत्रीलाई आपराधिक उपद्रव मुद्दामा मुलुकी ऐन आपराधिक उपद्रव दफा २८५ को उपदफा १ (ग) अनुसार चारबर्षको कैद सजाय र ४० हजार जरिवाना हुने मुद्दामा थप अनुसन्धानका लागि पहिलोपटक पाँचदिन र दोस्रोपटक ३ दिन गरी आठदिन म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक मनिस श्रेष्ठले जानकारी दिए ।