पोखरेल र मन्त्री तामाङलाई सिन्धुपाल्चोकमा देखाइयो कालो झण्डा

574
views

सिन्धुपाल्चोक । उपप्रधानमन्त्री ईश्वर पोखरेल र युवा तथा खेलकुद मन्त्री दावा तामाङलाई सिन्धुपाल्चोकमा कालो झण्डा देखाइएको छ।

बिहीबार सिन्धुपाल्चोकको खाँडीचौरमा आयोजना गरिएको नेपाल कम्युनिस्ट पार्टी नेकपा ओली पक्षका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न आएका उपप्रधानमन्त्री पोखरेल र खेलकुद मन्त्री तामाङलाई जिल्लाका युवा संघ र अनेरास्ववियुका युवा नेताहरूले कालो झण्डा देखाएका हुन्।

अनेरास्ववियूको केन्द्रीय सर्कुलरअनुसार कार्यक्रम गरिएको अनेरास्ववियूका जिल्ला संयोजक मिलन तामाङले जानकारी दिए।

जिल्लाका अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन र युवा संघका गरी करिब ५० जना नेताको उपस्थिति थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते गरेको प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाकै नेता तथा भ्रातृ संगठनका नेता कार्यकर्ताहरूले विभिन्न विरोधका कार्यक्रम गर्दै आइरहेका छन्।