निरंकुशसँग लडेर आएका आफूहरु सेना र प्रहरीका बन्दुकसँग डराउदैनौः पुन

372
views

काठमाडाैं : नेकपा स्थायी समिति सदस्य एवं पूर्वमन्त्री वर्षमान पुन अनन्तले लडेर आएका आफूहरु सेना र प्रहरीका बन्दुकसँग नडराउने चेतावनी दिएका छन्। 

संवैधानिक परिषदमा गरिएको नियुक्तिको विरोधमा नेकपाको प्रचण्ड–नेपाल पक्षले बिहीबार गरेको आमहड्तालका सहभागीलाई चाबहिलमा सम्बोधन गर्दै पुनले ज्ञानेन्द्र शाहको निरंकुशतासँग लडेर आएका आफूहरु ओली र रामबहादुर थापासँग नतर्सने उल्लेख गरे।

बिहीबार बुटवलमा र केही दिनअघि काठमाडाैंको चक्रपथमा सेनाका बख्तरबन्द गाडी र ट्याङ्कर गुडाएर तर्साउन खोजिएको पुनको भनाइ थियो। ओली सधैं प्रधानमन्त्री र थापा सधैं गृहमन्त्री रहिनरहने भन्दै पुनले आन्दोलन सफल भएर पदबाट हटेका दिन सेना र प्रहरीले नै उनीहरुलाई उठाएर हिरासतमा राख्ने दाबी गरे।

केही समयअघिसम्म आफ्नै पार्टीका अध्यक्ष र नेता रहेका प्रचण्डलाई गृहमन्त्रीले सडकबाटै उठाएन आदेश दिएको खबर सुनेको भन्दै पुनले आपत्ति जनाए। सेना र प्रहरी जस्ता संस्था जनताले तिरेको करबाट चलेको भन्दै पुनले लोकतन्त्र र जनताको रक्षाका लागि विश्वास गरेर हतियार राख्न दिएको तर्क गरे। 

‘सेनाका बख्तरबन्द गाडी र ट्याङकर  निकालेर जनता तर्साउन खोजिएको छ। हामी सबै लडेर आएका छौं।

जनता लडेर आएको छ’, पुनले भने, ‘खबरदार, केपी ओली र रामबहादुर थापा सधैं प्रधानमन्त्री र गृहमन्त्री भइराख्दैनन्। पदबाट झरेको भोलिपल्ट उठाएर ल्यायो भने के हुन्छ? कसैले घिसारेर उठायो भने कसले संरक्षण गर्छ?’ पुनले मुलुकमा राजतन्त्र  र सैन्य शासन नभएको र जनता धेरै शिक्षित, प्रशिक्षित र सचेत रहेकाले धम्कीसँग नडराउने बताए।